जिल्ला समन्वय स्याङ्जाको प्रमुखमा काँग्रेसका जि.टी. र्निविरोध निर्वाचित

प्रकाश डोटेल,
स्याङ्जा, २९ जेठ

जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र्निविरोध निर्वाचित हुनु भएको छ । समन्वय प्रमुखमा नेपाली काँग्रेसका नेता जि.टी.को मात्रै उम्मेदवारी परेपछि उहाँ र्निविरोध निर्वाचित हुनु भएको हो ।

गोलाप्रथाबाट काँग्रेसले प्रमुख सहित ४ सदस्य र एमालेले उपप्रमुख सहित ५ सदस्य लिने भागबण्डा भएको थियो । जिल्लाका ११ स्थानीय तहको प्रमुख र उपप्रमुखमा काँग्रेस र एमालेले ११÷११ स्थानमा जित हात पारेपछि समन्वयको नेतृत्वमा गोलाप्रथाबाट भागबण्डा भएको होे ।

काँग्रेसबाट प्रमुखमा पुतलीबजार नगरपालिकाका जि.टी र सदस्यमा पुतलीबजारकै नेमबहादुर राना, वालिङका सरस्वती बगाले र चापाकोटका गिता खाँण निर्वाचित भएका छन् । जि.टी. राजाको प्रत्यक्ष शासन काल (शाहि शासन) मा जिल्ला विकास समितिको सभापति थिए ।

एमालेबाट समन्वय समितिको उपप्रमुखमा पुतलीबजारका खड्कराज सुबेदी, सदस्यमा हरिनासका कृष्णप्रसाद सुबेदी, कालीगण्डकीका भोजबहादुर दर्लामी, फेदीखोलाका निरमाया पराजुली र चापाकोटका निर्मला सार्की निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति स्याङ्जा ९ सदस्यीय बनेको छ ।

काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका जि.टी. नेबिसंघ स्याङ्जाका संस्थापक सभापति समेत हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल जीवन बिताएका जि.टी. काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा समेत खेप्नु भएको थियो ।

Facebook Comments Box
TOP