पुतलीबजारको पहिलो निर्णय : जिल्ला अस्पतालमै नियमित डायलसिस र ब्लड बैंक स्थापना

काठमाडौं, जेठ ९ :

स्याङ्जाको पुतलीबजार नगरपालिकाले मृगौला रोगको नियमित डायलसिस गर्नुपर्ने बिरामीलाई स्याङ्जा जिल्ला अस्पतालमै सहज रुपमा डायलसिस सेवा दिने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनमा विजयी भएपश्चात बसेको नगर कार्यपालिकाको पहिलो बैठकले मृगौला रोगका बिरामीले निकै कठिनाई भोग्नुपरेको र बाहिर जानुपर्ने अवस्था रहेकोले थप स्वास्थ्यकर्मी र बायोटेक्निसियनको व्यवस्थापन मिलाई जिल्ला अस्पतालमै नियमित डायलसिस सेवा लिन सक्ने सुनिश्चिता गराउने निर्णय भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।

यस्तै नगरभित्र ब्लड बैंक नभएकोले नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा यथाश्रिघ ब्लड बैंक स्थापना र सञ्चालनका लागि पहल गर्नुका साथै आवश्यक सामाग्री खरिदका लागि तत्काल १० लाख रकम बिनियोजन समेत गरिएको रेग्मीले बताए ।

यस्तै नगरपालिकाबाट प्रबाह हुने सेवालाई छिटो, छरितो, प्रभावकारी र सहज बनाउन विद्युतीय र डिजिटल माध्यमबाट सेवा प्रवाह गर्ने गरी कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

Facebook Comments Box
TOP