नेपालबहसका प्रधान सम्पादकमाथि दुर्व्यवहार गर्ने मतदान अधिकृतलाई कारवाही गर्न माग

३० बैशाख :

स्याङजाको एक मतदान केन्द्रका मतदान अधिकृत सविन श्रेष्ठले मतदान स्थलभित्र सञ्चारकर्मी प्रवेशको विषयलाई लिएर नेपालबहस डटकमका प्रधान सम्पादक तथा सदाबहार मिडिया प्रालिका अध्यक्ष इन्द्र रिजालमाथि दुर्व्यवहार गरेको भन्दै कारवाही गर्न विभिन्न सञ्चारसंस्थाहरुले माग गरेका छन् ।

स्याङजा जिल्लाको विरुवा गाउपालिका ८ को भुरुङचौकी मावि मेथा भुरुङमा रहेको मतदान केन्द्रका मतदान अधिकृत सविन श्रेष्ठले पत्रकारहरलाई मतदानस्थलभित्र प्रवेश गर्न रोक लगाएपछि रिजालले पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउने कानूनी व्यवस्था नभएको भन्दै उनीहरुले निर्वाध रुपमा समाचार संकलन गर्न पाउनुपर्ने बताएका थिए ।

यस विषयमा निर्वाचन आयोगले समेत सरकारी वा निजि सञ्चारसंस्थाका प्रतिनिधिहरुले परिचयपत्रका आधारमा समाचार संकलन गर्न पाउने निर्णय गरिसकेको छ । तर, श्रेष्ठले पत्रकारलाई समाचार संकलनसहित फोटो खिच्न पनि प्रतिबन्ध लगाउने र दुर्व्यवहार गर्न काम गरेको विभिन्न सञ्चार संस्थाबाट जारी विज्ञप्तीमा भनिएको छ ।

रिजालमाथि मतदान अधिकृतबाट भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै स्याङजा पत्रकार समाज नेपालले विज्ञप्तीमार्फत मतदान अधिकृत श्रेष्ठमाथि कारवाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ स्याङजा साखाले पनि वरिष्ठ पत्रकार, स्याङजा  पत्रकार समाजका अध्यक्ष एव नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य समेत रहेका रिजालमाथि दुर्व्यवहार गरिनु दुखद भएको भन्दै श्रेष्ठलाई तत्काल कानून अनुसार कारवाही गर्न माग गरेको छ ।

मतदान अधिकृत श्रेष्ठसहित बिहीबार भएको सर्वदलीय छलफलमा पनि पत्रकारहरुलाई समाचार संकलन र फोटो खिच्न दिने तर, अरु मतदातालाई मोवाइल र क्यामेरा भित्र लान नदिने निर्णय गरेको बताएको छ । उनले सर्वदलीय बैठकको निर्णयविरुद्ध पत्रकारलाई रोक लगाउँदै दुर्व्यवहार समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।

मतदान अधिकृत श्रेष्ठ स्याङजाको पुतलीबजार नगरका इन्जिनियर रहेको र उनी एमालेसँग सम्बद्ध रहेको बताइएको छ । यता, श्रेष्ठले भने दुर्व्यवहारबारे  प्रतिक्रिया दिँदै आफुले कानून विपरित कुनै कार्य नगरेको बताएका छन् । उनले आफुले मतदान गरेको फोटो खिच्न खोजेपछि रोकेको र यस विषयमा रिजालसँग थोरै विवाद भएको स्वीकार गरेका छन् ।

पत्रकारमाथि भएको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले पनि निन्दा गरेका छन् । शुक्रबार भएको मतदानमा देशभरबाट पत्रकारहरुले मतदान स्थलभित्रका तस्विरहरु प्रकासित गरिरहेका छन् । कुनै पनि मतदान केन्द्रमा नभएको दुर्व्यवहार यही मतदान केन्द्रका मतदान अधिकृत श्रेष्ठले गरेको सञ्चारकर्मीहरुको भनाई छ ।

Facebook Comments Box
TOP