वालिङ : नगरको सुरक्षामा सिसि क्यामरा
प्रकाश डोटेल,
स्याङ्जा, जेड १३ :
नगरको सुरक्षा बढाउन र सुरक्षित नगर बनाउन सिसि क्यामरा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले नगरको सुरक्षा बढाउन र सुरक्षित नगर बनाउन बजार क्षेत्रका मुख्य चोकचोकमा सिसि क्यामरा जडान गरेको हो ।
नगरपालिकाको आर्थिक सहयोग, स्थानीय कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालय वालिङको समन्वयमा बजार क्षेत्रका मुख्य चोकचोकमा सिसि क्यामरा जडान गरिएको छ । सिसि क्यामरा जडान गर्न झण्डै ५ लाख खर्च गरिएको छ ।
नगरपालिकाको अगुवाईमा डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसि क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए । उनका अनुसार नगरपालिकाका मुख्य चोकचोक तथा सर्वसाधारणको बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ११ वटा सिसि क्यामरा जडान गरिएको छ ।
मुख्य गरी सिद्धार्थ राजमार्गका आसपासका चोक, भित्री बजार क्षेत्रका चोक गरी झण्डै ५ किलोमिटर क्षेत्र भकुण्डेबाट त्रियासीसम्मका चोक र प्रमुख क्षेत्रमा सिसि क्यामरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
“वालिङ बजारका प्रमुख क्षेत्रलाई समेट्ने गरी सिसि क्यामरा जडान गरेका छौं ।” डिएसपी खतिवडाले भने, “सिसि क्यामरा जडानपछि प्रहरी कार्यालय मार्फत २४सै घण्टा निगरानी र निरीक्षण गर्न सहज भएको छ ।” आपतकालिन घटना रोक्न सिसि क्यामराको सहायताले अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने विश्वास खतिवडाले जनाए ।
बजार क्षेत्रमा घटेका घटनामा स्थानीय संघसंस्थाको तथा व्यक्तिले राखेका सिसी क्यामराको डाटा हेर्नुपर्ने प्रहरीको बाध्यता थियो । चोकचोकमा सिसि क्यामरा जडानपछि कार्यालयबाटै निरीक्षण गर्न सहज भएको छ । दुर्घटनाहरुमा कमी आउने र घटना घटेमा तत्कालै दोषीलाई नियन्त्रणमा लिन सहज हुने प्रहरी कार्यालयले जनाएको छ ।
सिसि क्यामेरा नहुँदा चोरीका घटना हँुदै आएका थिए भने आपराधिक क्रियाकलापमा संलग्नको खोजि तथा अनुसन्धानमा कठिनाइ हुँदै आएको थियो । पसलमा रातिको समयमा चोरी हुने र प्रहरी प्रशासनलाई अनुसन्धान गर्न निकै कठिनाइ भएको थियो । क्यामरा जडानसँंगै शान्ति सुरक्षामा थप मद्दत पुग्ने बताइएको छ ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…