भ्यू टावरलाई अमेरीकन तथा मलेसियन व्यापारिक ट्विन टावर संग तुलना गर्दै ओली ।

 

काठमाण्डौ:
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावर निर्माणको बचाउ गरेका छन् । उनले भ्यू टावरलाई अमेरिका र मलेसियाका ट्वीन टावरसँग  तुलना गरेका छन् ।

पछिल्लो समय भ्यू टावरमा लगानी गरेर जनताको करबाट उठाएको रकमको दुरुपयोग भएको भन्दै आलोचना बढेकोप्रति असन्तुष्टि जनाउँदै ओलीले आफ्नो कार्यकालमा बनेका भ्यू टावर भन्दै तिनीहरूको बचाउ गरेका हुन् ।

उनले भने मलेसियामा मोहम्मद महाथिरले ट्विन टावर बनाएका थिए । त्यो बनाउँदा महाथिर पागल हो कि क्या हो ? गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो । मलेसियाको व्यापारिक केन्द्र, अर्थतन्त्रको व्यापारिक केन्द्र तिनै भ्यू टावर हुन्,  उनले तर्क गरे, ”अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए कतिपयले । यद्यपि भ्यू टावर सेप्टेम्बर ११ को दुर्घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होइन विश्वबजार केन्द्र थियो । मलेसियाको त्यस्तै छ ।”

एमालेले सुरु गर्न लागेको सामाजिक सेवा केन्द्रको आइतबार सुरुवात गर्दै ओलीले भ्यू टावरको आलोचना भएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ”हामीले बनाएका भ्यू टावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन्,  भ्यू टावरको विरोध गर्नेहरूलाई ओलीले भने, तर केही मान्छे बुझ्दैनन् र के भन्छन् भने अब उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ, प्रतिज्ञा गर्नुपर्नेछ, धर्म भाक्नुपर्नेछ भन्दै हिँड्छन् ।”

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता शेखर कोइरालाले आइतबार नै स्थानीय तहको निर्वाचनमा भ्यू टावर नबनाउने कुरा घोषणापत्रमा लेख्न कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । सोही कुरातिर लक्षित गर्दै ओलीले उक्त कुरा बताएका हुन् । ओलीले थपे, केही गर्न क्षमता नभएका, केही गर्ने योजना नभएकाहरूले विकास निर्माणका कामहरू गर्दा पनि आलोचना गर्छन्, विरोध गर्छन् ।

Facebook Comments Box
TOP