औषधि सहित घर घरमै पशु प्राविधिक

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।

पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

“पशुपालन गर्ने कृषकहरुलाई कार्यालयसम्म आईरहनुपर्दा र प्रक्रिया पूरा गर्न झण्झटिलो हुने भएकाले प्राविधिकहरुमार्फत घर घरमै पुगेर सेवा दिनुपर्छ भन्ने मनसायले अभियानको थालनी गरेका हौं” उहाँले भन्नुभयो, “औषधिसहित प्राविधिकहरु घर घरमै पुगेर विशेष गरी दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई अभियानकोरुपमा सञ्चालन गरेका हौं ।”

विशेष गरी ब्यवसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरुसँग घर घरमै पुगेर ब्यवसाय सञ्चालनकाक्रममा आईपरेका समस्याहरुकाबारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, निशुल्क औषधि वितरण गर्ने र आवश्यक परामर्श दिईने उहाँले जानकारी दिनुभयो ।

“वालिङ नगरपालिका मासु र दूधमा आत्मनिर्भर छ” उहाँले भन्नुभयो, “पशुपालनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै अझै लागत घटाउने र उत्पादन बढाउनकालागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

नगरभित्रका १४ वटै वडामा ब्यवसायिकरुपमा फर्म सञ्चालन गरेका ३० वटा फर्महरुमा पहिलो चरणमा पुगेर सेवा दिईने पशु शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

“ब्यवसायिकरुपमा पशुपालन गर्नुभएका पशुपालक कृषकहरुका फर्ममा पुगेर निशुल्करुपमा प्राविधिक सेवा र औषधि उपलब्ध गराउँछौं” प्रमुख अधिकारीले भन्नुभयो, “अब पशुपालक कृषकहरु समस्या लिएर नगरपालिका कार्यालय वा प्राईभेट एग्रोभेटहरुमा गईरहनुपर्ने अवस्थाको अन्त्य गर्ने छौं ।”

घरमै प्राविधिक सेवा र भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई निशुल्क औषधि उपलब्ध गराईदिएकोमा आँफूलाई खुशी लागेको मिनी कटौंजे भैंसीपालन फर्मका सञ्चालक कुश्माखर सुबेदी बताउनुहुन्छ ।

“घर घरमै प्राविधिकहरु आएर परामर्श दिने, उपचार गरिदिने कार्यको निरन्तरताकालागि नगरपालिकासमक्ष अनुरोध गर्दछु” सञ्चालक सुबेदीले भन्नुभयो, “यस अभियानले म जस्ता अन्य पशुपालक कृषकहरुलाई यस ब्यवसायप्रति लाग्न थप उर्जा दिने छ ।”

Facebook Comments Box
TOP