सेतीदोभानको अलपत्र पुल ३ महिनामै बन्ने
प्रकाश डोटेल
स्याङ्जा, १९ फागुन :
विगत ८ वर्षदेखि अलपत्रै अवस्थामा रहेको स्याङ्जाको सेतीदोभानमा निर्माणाधिन पक्की पुल आउँदो ३ महिनाभित्र बनाउने सहमति भएको छ । सरोकारवाला पक्षबीच भएको द्धिपक्षिय सहमति अनुसार निर्माण व्यवसायीले ३ महिनमा सक्ने गरी पुल निर्माणको कार्य सुरु गरेको छ ।
आँधीखोला गाउँपालिकाको सेतीदोभान र फापरथुम जोड्ने गरी निर्माणाधिन मोटरेबल पुल बन्न नसकेपछि स्थानीयको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पुल निर्माणमा चासो बढाएका थिए । अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्यका लागि ठेकेदार कम्पनी र सडक डिभिजनले स्याङ्जा प्रशासनमा सरोकारवालाबीच ३ महिनाभित्रमा पुलको निर्माण कार्य सम्पन्न गर्ने लिखित सहमति भएको छ ।
सम्बन्धित निर्माण ब्यवसायी, सडक डिभिजन कार्यालय पोखरा, स्थानीय सरोकारवालाबीच पटकपटक छलफल गराएपछि निर्माण कार्य अघि बढाउन आवश्यक पर्ने कार्ययोजना प्रजिअ पौडेलले तयार पारेका थिए । कार्ययोजना अनुसार पुल निर्माणका लागि प्रक्रिया अगाडी बढेको छ ।
“चालु आर्थिक वर्षमै सम्पन्न गर्नेगरी सरोकारवाला सबैलाई काम अगाडी बढाउन भनिएको छ, आशा छ, चालुवषर्मा पुल निर्माण सम्पन्न हुनेछ ।” प्रजिअ पौडेलले भने, “०७१ असोजमा सुरु गरिएको मोटरेबल पुल ०७३ असोजमा सक्नुपर्ने थियो ।” तर, निर्माण सुरु भएको ५÷६ महिनापछि रोकिएको पुल सम्झौता अनुरुप ५ वर्षअघि हस्तान्तरण गर्नुपर्ने थियो ।
निर्माण व्यवसायी र सडक डिभिजनको लापरवाहीका कारण पुल निर्माण हुन नसकेको बताउँछन् गाउँपालिकाका स्थानीय । पुल निर्माणमा दुबै पक्षका कमीकमजोरी छन् । दुबैले कमजोरी सुधार गर्दै अघि बढ्न स्थानीयले आग्रह गरेका छन् ।
अलपत्र परेको पुलका कारण स्थानीयले धेरै दुःख भोग्दै आएका छन् । पटकपटक गरी सम्झौता र सहमति बने पनि पुल बन्न नसक्दा स्थानीय नागरिक हैरानी भोग्न बाध्य छन् । उता राज्यको लाखौं रकम नष्ट भएको छ । त्यसो त, निर्माण व्यवासायी ऋषिराम गौतमले पनि सडक डिभिजनले आफूहरुलाई कुनै किसिमको डिजाइन नदिने तर बनेपछि भत्काउने काम गरेकाले पुल निर्माणमा कठिनाइ भएको सुनाए ।
“विगत लामो समयदेखि पुल अलपत्र बन्यो भन्दै स्थानीयको गुनासो आएका थिए, गुनासो आउना साथ बनाउन थालेपनि सडक डिभिजनले फेरि भत्काउन थाल्छ ।” उनले भने, “पटकपटक पुल भत्काउँदा निर्माण कम्पनीको लाखौं रुपैयाँको नोक्सान भएको छ ।”
सडक डिभिजन कार्यालय पोखराका डिभिजनल इन्जिनियर पारशमणी हमालले ३ महिनाभित्र निर्माण सम्पन्न गर्न आग्रह गरे । पुल निर्माण गर्नका लागि आवश्यक पर्ने कामदार लगायत थप गर्नुपर्ने काम कार्यालयले सहयोग गर्ने हमालले बताए ।
उक्त पुल निर्माणको जिम्मा कान्छाराम–आशीष जेबीले पाएको थियो । चालिस मिटर लम्बाई र ७ मिटर चौडाईको सो पुल ३ करोड २७ लाखको लागतमा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी तत्कालिन समयमा सम्झौता भएको थियो । निर्माण कम्पनीका लाखौं मूल्य बराबरका सामग्री नष्ट भएको देखिन्छ भने पुल वरपर रहेका फलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेर, काठ तथा फलामे सटिङ्का सामग्री यत्रतत्र रहेका छन् ।
आँधीखोलामा निर्माणाधीन पुलले सडक मार्फत सेतीदोभान बजारसँग जोडेको छ । पुल अलपत्र अवस्थामा हुँदा जावतआवतमा मात्रै समस्या नभएर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा समेत कठिनाइ भएको स्थानीय जयराम पौडेलले जानकारी दिए ।
समयमै पुल निर्माण भएमा नेपालकै पहिलो ग्रामिण पर्यटकीयस्थल सिरुवारी पुग्ने छोटो र सजिलो मार्ग तयार हुन्छ । यहाँबाट जिल्लाका दरौ, पञ्चमूल, आरूचौर, चिलाउनेवास, विचारीचौतारा, फापरथुम र छिमेकी जिल्ला पर्वतका एक दर्जन वडाका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …