निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा

तोलाकान्त बगाले
वालिङ, १० चैत  ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनको सरकारले निर्वाचनको मिति घोषणा गरेर अगाडि बढिसकेकाले तोकिएको समयमा सम्पन्न हुने बताउनुभएको हो ।
“वर्तमान सरकार निर्वाचनको मिति घोषणा गरेर अगाडि बढिसकेको छ” प्रधानमन्त्री देउवाले भन्नुभयो, “घोषणा भएको मितिमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नकालागि सबैको सहयोग आवश्यक छ ।”
प्रधानमन्त्री देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले काम कारबाहीहरुलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारकोरुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाहीहरु पारदर्शी र जनउत्तरदायी हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई थियो । “स्थानीय सरकारका हरेक गतिविधिहरुलाई जनताले नजिकबाट नियालीरहेका हुन्छन्” प्रधानमन्त्री देउवाले भन्नुभयो, “तसर्थ जनतको मन जित्नेगरी स्थानीय सरकारले काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”
चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिहरुलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै संभव रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो शहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आँफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुलहरु अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो । ढिलै भएपनि एमसिसी पास भएको छ यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाई थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई अधिनायकवादीहरु र प्रतिगमनकारीहरुबाट बचाउनकालागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो । कालीगण्डकी सभ्यताको संरक्षणका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले डाईभर्सन हुनै नदिने धारणा ब्यक्त गर्नुभयो ।
पूर्व मन्त्री मीनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व नेपाली काँग्रेस पार्टीले गरेको बताउनुभयो । उहाँले जब देश जटिल अवस्थामा पर्छ त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले देशलाई निकास दिने कार्यहरु गरेको बताउनुभयो ।
नेपालको समयलाई अब खेर जान नदिने गरी प्रधानमन्त्री देउवा अगाडि बढ्नुभएको बताउदै आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन नेता कार्यकर्ताहरुलाई पूर्वमन्त्री रिजालले अनुरोध गर्नुभयो । गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचूर संभावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सिञ्चाईका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालीगण्डकी डाईभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले बताउनुभयो । उहाँले कालीगण्डकी डाईभर्सनलाई रोक्नकालागि प्रधानमन्त्री देउवासमक्ष अनुरोधसमेत गर्नुभयो । चापाकोट नगरपालिका धेरै संभावना बोकेको पालिका भएकाले पनि यसको विकासकालागि स्थानीय सरकार लागिपरेको नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य, समन्वय गर्दै विकास निर्माण गर्दै लगिने नगर प्रमुख गिरीले बताउनुभयो । चापाकोट नगरपालिका समथर र निक्कै संभावना बोकेको स्थल भएकाले यहाँ बिमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नकालागि सडक निर्माणलाई जोड दिन उपप्रमुख बिमला श्रेष्ठले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । Radio aandhikhola
Facebook Comments Box
TOP