आप्रवासी प्रोफाईल तयार गर्दै वालिङ

तोलाकान्त बगाले/वालिङ:

स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासी प्रोफाईल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाको आप्रवासी प्रोफाईल तयारीका लागि गणकहरुलाई तालीम दिएर आजबाट परिचालन गरेको हो ।

वालिङ नगरभित्रका नागरिकहरु वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुमा रहेको सीप, योग्यता लगायतका विवरण संकलन गरिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“वालिङका नागरिकहरु वैदेशिक रोजगारीमा कति छन्, कति जना फर्किए, उनीहरुमा के कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकहरुले घर घरमै पुगेर सङ्कलन गर्छन्” उहाँले भन्नुभयो, “ईच्छुकहरुको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने छौं ।”

‘रोजगार पोर्टल’ मा ईच्छुकहरुको नामावली राखेसँगै उद्योग तथा कलकारखानाहरुलाई आवश्यक पर्दा कामदारहरु चाहिएमा सहज र सुलभरुपमा उपलब्ध गराउन सकिने छ ।

“वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’ मा उल्लेख गरिन्छ” उहाँले भन्नुभयो, “सोही पोर्टलमा उद्योग तथा कलकारखानाले आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, जसले गर्दा कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।”

वालिङका कति नागरिकहरु वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकहरुको स्थिति के छ भन्ने बुझ्नकालागि १४ वटै वडामा गणकहरु खटाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

“एक महिनासम्म १७ जना गणकले गाउँ गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन्” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकहरुको अवस्थाकाबारेमा यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रमहरु निर्माण गरी कार्यान्वयनमा सहजता हुने छ ।”

‘कोभो एप्स’ को प्रयोग गरेर गणकहरुले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् ।

वैदेशिक रोजगारीमा गएका नागरिकहरुले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकहरुले घर घरमै पुगेर भर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

१७ जना गणकहरुलाई दुईदिने तालीम दिएर आज (बुधबार) बाट वडा÷वडामा जिम्मेवारी दिएर पठाईएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।

यसको यथार्थ र तथ्यपरक विवरण संकलनकालागि गणकहरु घर÷घरमा गए÷नगएको एप्समार्फत नै निगरानी गरिने कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो ।

“गणकहरुले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण संकलन गर्नेछन्” संयोजक सापकोटाले भन्नुभयो, “एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका ब्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घर परिवारबाट फरक÷फरक विवरण संकलन हुनेछ ।”

वैदेशिक रोजगारीमा गएर फर्केका ब्यक्ति र वैदेशिक रोजगारीमा रहेका ब्यक्तिको परिवारलाई लक्षित गरेर विवरणहरु संकलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाईएको हो ।

Facebook Comments Box
TOP