कोभिडबाट निधन भएका ५३ परिवारलाई गल्याङ नगरपालिकाको आर्थिक सहयोग

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट निधन भएका परिवारलाई राहत स्वरुप गल्याङ नगरपालिकाले नगद रकम उपलब्ध गराएको हो ।
गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘कोरोना भाइरसका कारण निधन भएका परिवारलाई थोरै भएपनि क्रिया खर्च वापतको रकम उपलब्ध गराइएको हो ।’
नगरप्रमुख अधिकारीले कोभिड १९ को रोकथाममा नगर लागि परिरहेको अवस्थामा पनि केही व्यक्तिको निधन भएकाले परिवारलाई सहयोग गरिएको बताउनुभयो ।
उहाँले निधन भएका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिएको पनि जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाका विभिन्न निकायमा हुने रोजगारीका अवसरमा कोभिडबाट निधन भएका परिवारलाई प्राथमिकता दिने अधिकारीको भनाई छ ।
गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख ढालबहादुर केसीका अनुसार २०७८ असार २३ गते देखि पुस ४ सम्म कोरोना भाइरस (कोभिड १९) बाट निधन भएका ५३ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । उहाँले ती २५ हजारका दरले रकम उपलब्ध गराउँदा १३ लाख २५ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
केसीले अस्पतालको रिपोर्ट तथा वडा कार्यालयको सिफारिसका आधारमा रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP