कांग्रेस गण्डकीको मतदान सकियो

पोखरा :
नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान करिब १० बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको हो ।
कुल एक हजार १६५ मतदातामध्ये एक हजार १४६ मत खसेको छ । निर्वाचन समितिका संयोजक कृष्ण थापाका अनुसार केही बेरमा मतगणना हुनेछ ।
प्रदेश सभापति पदका लागि अर्जुनप्रसाद जोशी र शुक्रराज शर्मा चुनावी मैदानमा छन् । जोशीले संस्थापन र शर्माले संस्थापनइतर समूहबाट उमेदवारी दिएका हुन् ।
उपसभापति र महामन्त्रीमा चार/चारजनाको उमेदवारी परेको छ । मेखलाल श्रेष्ठ, नेत्र महत, हरिकुमार श्रेष्ठ र कल्पना तिवारी उपसभापतिको दौडमा छन् । मेखलाल र नेत्र संस्थापन पक्षबाट, हरिकुमार र कल्पना इतर समूहबाट उमेदवार बनेका हुन् ।
महामन्त्रीका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने चुनावी मैदानमा छन् । खड्का र पाण्डे संस्थापनबाट उमेदवार बनेका हुन् ।
सहमहामन्त्रीमा ६ जनाको उमेदवारी परेको छ । राजनराज पन्त, झुलबहादुर आले, युवराज बस्ताकोटी, रामचन्द्र जोशी, रमेशकुमार पाण्डे र गणेश सापकोटा सहमहामन्त्रीका उमेदवार छन् । पन्त र आले संस्थापन, जोशी र पाण्डे इतर समूहबाट उमेदवार बनेका हुन् ।
महिला सहमहामन्त्रीमा ओमकला गौतम र कोपिला रानाभाटको उमेदवारी परेको छ । गौतम संस्थापन र रानाभाट इतर समूहबाट उमेदवार बनेका हुन् ।
सभापति एक, उपसभापति, महामन्त्री, खुला सहमहामन्त्री दुई/दुई र महिला सहमहामन्त्रीमा एकजना निर्वाचित हुनेछन् । सदस्य ६० जना निर्वाचित हुनेमा १३२ को उमेदवारी परेको छ ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…