नगर यातायात गुरू योजना तयार पार्दै भीरकोट : सडकलाई चारभागमा बर्गिकरण ।

वालिङ,पुस ११ गते :
भीरकोट नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेका सडकहरूको स्तरोन्नति, विस्तार र व्यवस्थापन गर्न नगर यातायात गुरुयोजना तयार पारेको छ ।
प्रस्तावित गुरु योजनामा नगर क्षेत्र भित्रका सडकहरूलाई क, ख,ग, घ गरि चार भागमा वर्गीकरण गरिएको छ । “क” बर्गको सडकको चौडाइ १४ मिटर, “ख” बर्गको सडकको चौडाइ १०–१२ मिटर , “ग” बर्गको सडकको चौडाइ ८ मिटर र “घ” बर्गको सडकको चौडाइ ६ मिटर कायम गर्न सुझाइएको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो । क र ख बर्गको लागि २ मिटर , ग र घ बर्गको लागि १.५ मिटर सडक सेटव्याक प्रस्ताव गरिएको छ ।
भीरकोट नगरपालिकामा झण्डै १० कि.मि सिद्धार्थ राजमार्ग पर्दछ । यसैगरी आँधिखोला करिडोरको ८.५ कि.मि. सडक खण्ड पनि भीरकोटमा पर्दछ । राजमार्ग बाहेक नगर क्षेत्रभित्र करिब ३३ कि.मि. जिल्ला सडक संजाल छ । राष्ट्रिय राजमार्ग बाहेक करिब २६ कि.मी सडक खण्ड मात्रै कालोपत्रे गरिएको नगरपालिकामा अधिकांश ग्रामीण सडकको अबस्था नाजुक छ ।
प्रस्तावित मस्यौदामा उल्लेख भए अनुसार नगर भित्र ३६.८६ कि.मी. कालोपत्रे सडक, २१८.४६ कि.मी धुले सडक, २७.८७ कि.मी ग्राभेल सडक, ३.९८ ढलान सडक र ६.३७ नयाँ सडक गरि जम्मा २९५.०१ कि.मी सडक संजाल रहेको प्रमुख खनालले बताउनु भयो ।
प्रस्तावित मस्यौदामा सडकको विकास, विस्तार र स्तरोन्नतिका लागि प्राथमिकीकरणका आधारहरू पनि उल्लेख गरिएको छ । जस अनुसार वडाको माग, अहिलेको सडक चौडाई, जनसंख्या , सडकको फाइदा, सडकको अवस्था लगायतका आधारमा सडकको प्राथमिकीकरण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले बताउनु भयो ।

प्रस्तावित मस्यौदामा ३ सडकलाई क बर्गमा राखिएको छ यसैगरी ११ सडकलाई ख बर्गको सडकको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ । त्यस्तै २७ वटा सडक खण्डलाई ग बर्गको सडकको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ ।
नगर प्रमुख खनालले नगरले अहिले सम्म नगर क्षेत्रको विकासका लागि २ वटा गुरु योजना बनाइसकेको जानकारी दिनुभयो । उहाँले नगर विकास गुरू योजना, कृषि विकास गुरु योजना बनिसकेका छ्न् । नगरको डिजिटल प्रोफाइल पनि तयार भैसकेको र नगर यातायात गुरु योजना निर्माणाधीन रहेको जानकारी दिनुभयो । अहिलेको सरकारले बनाएका गुरु योजनाले अब बन्ने स्थानीय सरकारलाई नगर विकासको स्पष्ट मार्गचित्र प्रदान गर्ने बताउँदै उहाँले वर्तमान र भविष्यका आवश्यकता मध्येनजर गरेर दीगो विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
सार्थक इन्जिनियरिङ कन्सल्टेन्सी, काठमाडौंको सहयोगमा नगर यातायात गुरु योजना तयार पारिएको हो ।
कार्यक्रममा नगरउपप्रमुख सिमा केसी कर्माचार्य,योजना अधिकृत याम प्रसाद रेग्मी,सार्थक कन्सल्टेन्सीका इन्जिनियर हेमन्त तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु, शाखा प्रमुख, इन्जिनियर, लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
TOP