‘उद्यमी बनेर अगाडि बढ्नुस्, नगरपालिकाले बजारको ग्यारेण्टी गर्छ’ : नगरप्रमुख अधिकारी

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो ।
तामिलको समापनको अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ ।
उहाँले कुनै पनि तालिम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालिमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘उद्यमी बनेर अगाडि बढ्नुस्, नगरपालिकाले बजारको ग्यारेण्टी गर्छ ।’
उहाँले महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न सकेमा घरेलु हिंसा समेत कमी हुने बताउनुभयो ।
बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिम लिएर घरमा बसेमा सरकारको लगानी बालुवामा पानी बराबर हुने भन्दै यसलाई सही रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका आर्थिक विकास शाखा सुशिल अर्यालले तालिम प्राप्त गर्नु नै अवसर भएको भन्दै यसलाई अब व्यवहारमा लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाअध्यक्ष तथा नगरप्रबक्ता गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन वडा नम्बर १ का सचिव मनिराम भट्टराईले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP