‘समृद्धिको आन्दोलन अगाडि बढाउन’ मेराे उमेद्वारी : खाँण

दिक्षान्त प्रताप खाँण :
समाजलाई गति दिन सक्ने उर्जाशिल र सबैभन्दा बढी सम्भावना बोकेको शक्ति युवा हो। २०३३ सालमा श्रद्धेय नेता महामानव विश्वेश्वरप्रसाद कोइराला जब नेपाली कांग्रेसले पञ्चायत सरकार विरुद्ध लामो समयदेखि गर्दैआएको सशस्त्र क्रान्तिलाई अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको नीति लिएर राजासँग संवादको माध्यमबाटै प्रजातन्त्रको पुनःस्थापना गर्ने सङ्कल्पका साथ सदाका लागि भारतीय भूमि छाडेर नेपाल आउनुहुन्छ, विमानस्थलमा अवतरण गरेकै क्षण राजाले बीपी कोइरालालाई गिरफ्तार गरी हिरासतमा राखेको घटनाले लामो समयदेखि प्रजातन्त्रका लागि बुलन्द आवाज गरिरहेका नेपाली जनताको भावनामाथि वज्रपात पर्दछ। त्यस घटानपश्चात क्रान्तिमा अग्रसर रहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमा उत्साह हराउँदै गएको र आशा मर्दै गएको बेलामा २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनले नै सबैको आशालाई पुन: जागृत गर्दै २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएको स्वर्णिम इतिहासलाई सम्झन र सम्झाउन चाहन्छु। त्यसबीचमा र त्यसयता पनि नेपालका महत्वपुर्ण क्रान्तिकारी आन्दोलनहरुमा युवाहरूको अग्रगामी भूमिका रहँदैआएको कुरामा दुईमत छैन।
आज हामी निकै नै फरक परिवेशमा आइपुगेको छौँ। प्रथम र द्वितीय जनआन्दोलन अनि जननिर्वाचित संविधानसभाबाट लेखिएको संविधानको कार्यान्वयन पश्चात नेपाली राजनीति एउटा नयाँ युगमा प्रवेश गरेको छ। अबको हाम्रो आन्दोलन विगतको भन्दा निकै फरक रहनेछ जुन समृद्धिको आन्दोलन हो। विगतका यतिधेरै आन्दोलनलाई सार्थक तुल्याउने युवाहरुलाई अबको सम्मृद्धिको आन्दोलनबाट वञ्चित गराइनु यूवा क्षमतामाथि न्यायोचित नहुने मात्र होइन, समृद्धिको हाम्रो आन्दोलनलाई नै गतिहिन बनाउनु हो भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ।
समृद्धिको आन्दोलनमा युवाहरू अग्रगामी भूमिकामा रहनुपर्छ भनेर मैले भन्दैगर्दा तपाईंहरुले बुझ्नुपर्ने कुरा अर्को के पनि छ भने मैले आफूलाई मेरो उमेरका कारणले युवा भनेको होइन। युवा उमेर होइन आदर्श सहितको उन्माद हो। बीपी कोइराला भन्नुहुन्थ्यो, “म युवाहरूलाई उमेरले मान्दिनँ। मैले कतिपय उमेरका युवाहरुलाई देखेको छु- जो भिरू, रुढिवादी, उत्साहित, आदर्श शुन्य छन्, त्यस्तालाई म युवा मान्दिनँ। उमेर जे भएपनि मेरो माथि उल्लेख गरेका शर्त मुताबिक म युवा मान्दछु।” यही आदर्शमा अडिएर नै म दिक्षान्त प्रताप खाँण युवा उम्मेदवारका रूपमा नेपाली कांग्रेसको १४अौँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर २(क)को सह- सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु।
Facebook Comments Box
TOP