एमालेको विधान महाधिवेशन सकियो, तीन वटै प्रस्ताव पारित, दुई पटक बढी कार्यकारी बस्न नपाइने

काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।

३ दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गर्नुभएको थियो । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पारित गरेको हो ।

यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताउनु भयो । एमालेको सरकारउहाँले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गा¥हो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गर्नुभयो ।

यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उहाँले पूर्ण कार्यकाल काम गर्न पाउनु हुनेछ । उहाँ फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ ।

पार्टिको सांगठनिक संरचना तपशिलका अनुसार हुने गरि सर्वसम्मत पारित भएको छ :
स्थायी कमिटी-४५
पदाधिकारी- जम्मा १५:
अध्यक्ष -१
वरिष्ठ उपाध्यक्ष -१
उपाध्यक्ष -४
महासचिव -१
उपमहासचिब-१
सचिब -७
प्रदेश कमिटी -५०
एक निर्वाचन क्षेत्र बराबर थप- ५
जिल्ला कमिटी -५०(१ निर्वाचन क्षेत्र = थप १५)
पालिका कमिटी-५०(१ वडा = थप ५)
टोल कमिटी-३१
उपत्यकामा विशेष प्रदेश कमिटिको ब्यबस्था
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP