एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी

गल्याङ :

नेपाल कम्युनिष्ट पार्टी एमालेको गल्याङ नगर अधिबेशन भैरहेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३, गल्याङबजार लेमभित्तामा एमालेको नगर अधिबेशन भैरहेको हो ।
अधिबेशनको उद्घाटनमा नेकपा एमालेका स्याङ्जा जिल्ला कमिटि अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्तिको रुपमा आउने दावी गर्नुभयो ।
उहाँले देशभर एमालेको पक्षमा जनलहर आइरहेको भन्दै यो अधिबेशन पछि एमाले अझै सशक्त रुपमा उभिने बताउनुभयो ।
अध्यक्ष गैह्रेले भन्नुभयो –‘एमालेको शक्ति देखेर विपक्षीहरु अत्तालिएका छन् । हामीले संगठनलाई अझै मजबुद बनाउनुको विकल्प छैन ।’
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य पुण्य भूसालले जेष्ठ नागरिकलाई भत्ता वितरण देखि हालसम्म एमालेले जनपक्षीय काम मात्रै गरिरहेको बताउनुभयो । वडा अधिबेशन देखि अहिलेसम्म आउँदा एमालेको जनसंगठन बन्ने क्रम बढिरहेको भन्दै उहाँले यसलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो ।


नेकपा एमाले जिल्ला कमिटि सदस्य एवम् गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पार्टी एकता पछि पार्टी कमिटिहरु व्यवस्थित हुन नसकेको भन्दै अहिले पार्टी कमिटि व्यवस्थित हुन थालेको बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकामा एमाले विभाजन नभएको दावी पनि गर्नुभयो ।
अधिकारीले भन्नुभयो –‘एमाले पहिले भन्दा बढि एकताबद्व छ, एमाले कमजोर भयो भनेर विपक्षीले आँखा चिम्स्याउन र दिउसै सपना देख्न जरुरी छैन ।’
उहाँले समाजवाद उन्मुख अर्थ व्यवस्था सहित जनजीविकाको सवालमा पार्टी अझै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अधिकारीले विधि, निति मान्ने र गुटबन्दी नगर्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्ष पनि रहनुभएकी गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा मगरले व्यवस्थित ढंगले वडा अधिबेशन सम्पन्न भइसकेको भन्दै एमालेलाई शक्तिशाली पार्टीको रुपमा विकास गर्न अधिबेशनको विशेष महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभाका सदस्य मुक्तिप्रसाद पाठक, जिल्ला समन्वय समितिका सदस्य धनमाया विश्वकर्मा, नगर कमिटि सचिवालयका सचिव छविलाल भूषाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
नगर कमिटिको नयाँ नेतृत्वका लागि आकांक्षीहरुको संख्या धेरै भएकाले निर्वाचन हुने सम्भावना रहेको बताइएको छ ।

 

Facebook Comments Box
TOP