पार्टी बिभाजन पछि एमाले स्याङ्जाले गर्यो वृहत् कार्यकर्ता भेला,केन्द्रीय नेताहरु स्याङ्जामा

स्याङ्जा :
नेकपा (एमाले) स्याङ्जाले बृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । पार्टीको बिभाजन पछि जिल्लामा पहिलो पटक भएको भेलामा केन्द्रका नेताहरुको बाक्लो सहभागिता रहेको थियो ।
भेलालाई एमालेका केन्द्रीय सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई,पोलिट्ब्युरो सदस्यद्वय जगत विश्वकर्मा र खगराज अधिकारी,केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पद्माकुमारी अर्याल,केन्द्रीय सदस्य सीता सुन्दास, लिला थापा, सुरक्षा विभागका सचिव स्वभीयत ढकाल लगायतको सहभागिता रहेको थियो ।

के भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सचिव गुरुङले :
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले बाह्य शक्तिसंगको मिलेमतोमा पार्टीलाई विभाजन गरिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘माधव नेपालले आफ्नो स्वार्थका लागी पार्टी विभाजन गर्नुभयो ।’
पार्टीप्रति अनावश्यक भ्रम फैलाईएको भन्दै कुनै भ्रममा नपर्न कार्यकर्तालाई नेता गुरुङको आग्रह समेत छ । अवको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने उहाँको दावी छ ।

के भने योगेश भट्टराईले :
नेकपा एमालेका सचिव योगेश भट्टराईले बेग्लै ईतिहास बोकेको पार्टी एमाले भएको बताउनु भयो । देशलाई विभिन्न, जातिय भौगोलिक रुपमा टुक्र्याउन हुँदैन नेपाललाई अखण्ड राख्नुपर्छ नेपाललाई जोड्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टी एमाले हो उहाँले थप्नुभयो ।
तीन करोड नेपालीसंग एमालेको सम्बन्ध जोडिएको भन्दै एमालेका पार्टी सचिव रहनुभएका नेता भट्टराईले हिमाल, पहाड, तराई, जनजाति, दलि, उत्पिडन वर्गका साथै सम्पुर्ण नेपालीहरुसंग एमालेको सम्बन्ध जोडिएको बताउनुभयो ।

कार्यकर्ता भेलामा एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री पद्मा कुमारी अर्यालले विकासको लहर ल्याउने पार्टी एमाले मात्र भएको बताउनु भयो । नेकपा समाजवादी एस तर्फ लागेका नेताकार्यकर्तालाई लक्षित गर्दै अर्यालले भन्नुभयो, दायाँबाँया नलागी एमाले मै समाहित हुन कार्यकर्तालाई आग्रह गर्दछु ।’
जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेता उदय श्रेष्ठले र संचालन सचिव सुधिर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी दर्जनौ व्यक्ति पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । तस्वीरहरु : सामाजिक सञ्जाल

Facebook Comments Box
TOP