कांग्रेसको पालिका अधिवेशन सर्‍यो, कार्यतालिकामा हेरफेर गर्ने प्रस्ताव

nc flag tree

काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सर्ने भएको छ । नेताहरुले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिका नै हेरफेर गर्ने तयारी गरेका छन् ।

सदस्यताको विवादका कारण वडा तहको अधिवेशन प्रभावित भएपछि कांग्रेसले पुन: कार्यतालिकामा फेरबदल गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यतालिका फेरबदल गर्ने विषयमा सहमति भइसकेको छ । ‘कार्यतालिका फेरबदल गर्ने सहमति भइसक्यो । अब आधिकारिकरुपमा आउँछ,’ एक नेताले भने ।

देउवा र पौडेलबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसक्रममा पौडेलले वडा अधिवेशन सम्पन्न भएपछि ७५३ वटै पालिकाको अधिवेशन एकै दिन गर्नुपर्ने प्रस्ताव गरेका थिए । शुक्रबार बिहान पुन: नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित नेताहरुले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यसपछि देउवाले महाधिवेशनको यसअघि सार्वजनिक कार्यतालिकामै हेरफेर गर्ने तयारी गरेका छन् ।

यसअघि २७ भदौ अर्थात् आइतबारका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो । तर, शुक्रबारसम्म पनि वडा अधिवेशन नै सकिएको छैन । भदौ १८ मै ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने कार्यतालिका थियो । तर, २१ वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद अझै पनि सुल्झिएको छैन । ती जिल्लाको वडा अधिवेशन नै अझैसम्म अनिश्चित छ ।

पौडेल समूहले ६७४३ वटै वडामा एकैदिन अधिवेशन हुने वातावरण बनाउन आन्दोलन नै गरेको थियो । तर, सदस्यताको विवाद समयमै नमिलेका कारण पार्टीको वैधानिकता जोगाउन भन्दै नेताहरुले १८ भदौमै वडा अधिवेशन सुरु गर्नैपर्ने बाध्यतामा वडा अधिवेशन सुरु भयो ।

केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको मतदाता नामावली प्रकाशन गरी अधिवेशनको प्रक्रिया अघि बढाएको छ । तीमध्ये कतिपय जिल्लामा अहिले पनि अधिवेशन भइसकेको छैन । ‘सबै जिल्लामा वडा अधिवेशन भइसकेपछि मात्रै त्योभन्दा माथिल्ला तहको अधिवेशन गर्ने सहमति भएको छ, त्यही अनुसार नयाँ कार्यतालिका बनाउने कुरा छ,’ ती नेताले भने ।

ती नेताका अनुसार अब बाँकी सदस्यताको विवाद मिलाएर ५ असोजमा वडा अधिवेशन गर्ने प्रस्ताव छ । त्यस्तै, ७५३ वटै पालिकाको एकैपटक ९ असोजमा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । ११ असोजमा प्रदेश सभा क्षेत्र, १३ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १६ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने प्रस्ताव तय भएको छ ।

यसअघि प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गर्ने कार्यतालिका थियो ।

प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि घोषित मितिमै हुनेछ । कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ मा गर्ने कार्यतालिका छ । ईकान्तिपुर डटकमबाट

Facebook Comments Box
TOP