नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ सांसद सहित नयाँ दल दर्ताका लागि सनाखत ।

काठमाडौं:
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन् ।

उनीहरुले बुधबार दिउँसो आयोगले तोकेको समय सीमाभित्र निर्वाचन आयोग पुगेर सशरीर उपस्थित भई सनाखत गरेका हुन् । उपचारका क्रममा भारतमा रहनुभएका पूर्वप्रधानन्त्री झलनाथ खनालको भने वारेसमार्फत सनाखत गरिएको हो ।

आयोगमा मंगलबार निवेदन दिएका सोमप्रसाद पाण्डे, माया ज्ञवाली न्यौपाने, शारदा देवी भट्ट र राजन राईले भने सनाखत गर्न पाएनन् । दर्ताका समयमा हस्ताक्षर नगरेका उनीहरुलाई भने सनाखत गर्न नदिइएको हो । उनीहरुलाई सनाखत गर्न नदिएकामा नेताहरुले आयोगसँग गुनासो गरेका थिए ।

तर निर्वाचन आयोगले भने यसअघि नै अध्यादेशमा लेखिएको कानुनी प्रावधानले उहाँहरुको निवेदन स्वीकार गर्न नसकिएको जनाएको हो ।

नेकपा (एकीकृत समाजवादी) नेताहरु भने चन्द्रागिरि हिल्समा भएको बैठकबाट सिधै निर्वाचन आएका थिए । आयोगले दलको सनाखतका लागि बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

Facebook Comments Box
TOP