सामाजिक सञ्जालमा बेरुजुको टिका टिप्पणीप्रति गाउँपालिकाको ध्यानाकर्षण
तोलाकान्त बगाले/वालिङ :
अर्जुनचौपारी गाउँपालिकाको बेरुजुको विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६÷०७७ को महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिम गाउँपालिकाको बेरुजु अंक धेरै कायम हुनुमा बहुवर्षीय योजनाहरुको पेश्की रहेको जानकारी गराउँदै सत्यतथ्य र यथार्थ नबुझिकन अमर्यादित टिका टिप्पणी नगर्न नगराउनहुन अनुरोध गरेको छ ।
सार्वजनिक कार्यालय र पदाधिकारीहरुका काम, कर्तब्य र अधिकारकाबारेमा जान्न बुझ्न पाउने नागरिकहरुको अधिकार हो गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्यालले भने, ‘जान्न बुझ्न चाहेका कुरा कार्यालयमा उपस्थित भएर नियमानुसार बुझ्न पाईने तर सामाजिक सञ्जालमा ब्यक्तिगत मानहानी हुने र कपोलकल्पित आरोप लगाउने कार्य सर्वथा निन्दनीय र आपत्तिको विषय हो ।’
सामाजिक सञ्जालहरुमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई जोडेर चरम भ्रष्टाचार गरेको, आर्थिक अनियमितता गरेको भन्ने जस्ता आरोपहरु आएकाले यसलाई पुष्टि गरेर देखाउन अध्यक्ष अर्यालले चुनौति दिए ।
सामाजिक सञ्जालमा ब्यक्तिगत मानहानी हुने आक्षेप लगाउने, चरित्र हत्या गर्ने मनसायले आएका टिका टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ अध्यक्ष अर्यालले भने, ‘यसरी ब्यक्तिगत आरोप लगाउने कार्य भईरहेमा कानूनी उपचारको बाटो अवलम्बन गर्नुपर्ने अवस्थाको सिर्जना हुने छ ।’
महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजुहरु छिटै नै सम्परीक्षण गराई गाउँपालिकालाई बेरुजुमुक्त पालिका बनाउन पहल भईरहेको गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन् । बहुबर्षीय योजनाहरु सञ्चालन हुनु, कोभिड १९ को कारण समयमै काम सम्पन्न हुन नसक्नु र कतिपय कानूनी ब्यवहारिक कठिनाई, भौगोलिक जटिलता तथा उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुको योजना सञ्चालन सम्बन्धमा ज्ञान, अनुभव नहुनु तथा योजना संवेदनशील नहुने प्रकृति पनि बेरुजुका कारण भएका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताए ।
स्याङ्जाका एघार पालिकामध्ये अर्जुनचौपारी गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु भएको महालेखा परीक्षण प्रतिवेदन सार्वजनकि भएपछि विभिन्न ब्यक्तिहरुले जनप्रतिनिधिहरुलाई लक्षित गरी भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालहरुमा अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुले आर्थिक अनियमितता गरेको, भ्रष्टाचार गरेर घरजग्गा जमिन जोडेकोजस्ता ब्यक्तिहरुलाई जोडेर आएको आरोपहरुप्रति ब्यक्ति ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर गाउँपालिकाले आपत्ति जनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका गाउँपालिका अध्यक्ष मोहन अधिकारी, नेपाली काँग्रेसका गाउँ सभापति बोधनारायण रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि अर्जुन काफ्ले, राप्रपाका प्रतिनिधि भीमबहादुर क्षेत्री, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले गाउँपालिकाका नाममा देखिएका बेरुजुहरुको फछ्र्यौट गर्दै अगाडि बढ्न सुझाव दिए । उपभोक्ता समिति तथा निर्माण ब्यवसायीका नाममा औंलिएको बेरुजु फछ्र्यौट तथा ब्यक्तिको चरित्र हत्या गर्ने मनसायबाट सञ्चालित सामाजिक सञ्जालहरुलाई कारबाहीको दायरामा ल्याउनका लागि गाउँपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…