एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरे ।

काठमाण्डौ:

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो। पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए।

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्।

हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षमा सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्। यीमध्ये केही सांसदहरू गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए।

 

Facebook Comments Box
TOP