युथ फोर्सको काउन्टरमा ‘अखिल फोर्स’ गठन ।

काठमाडौं:
तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको छ । बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको छ। युथ फोर्सको काउन्टर र्फोसको रुपमा यसलाई अगाडि सारिएको बताईएको छ ।

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीका अनुसार वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए।

उनले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे। ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ। केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो। तर न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, उनले भने, ‘अब माधव नेपालहरुप्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो। यसका लागि अनेरास्ववियु लाग्छ। आज हामी अखिल फोर्स बनाउँदैछौँ, यदाकदा साइबर स्यालहरु हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरुलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन्। यो अखिल फोर्सले एउटा काम गर्नेछ, ती साइबर स्यालहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ। अखिल फोर्सले गर्नेछ।’

गत मंगलबार एमाले अध्यक्ष ओली निकटहरूले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएका थिए।

Facebook Comments Box
TOP