फेदीखोला : चार बर्षका उपलब्धीलाई संस्थागत गरिने, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । सुरुवाती आर्थिक बर्षबाट शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको पालिकाले शिक्षा क्षेत्रमा मात्र १२ करोड बढि बजेट विनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष देवी थापाले प्रस्तुत गरेको बजेट अनुसार सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक विकासमा ३ करोड ८१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ८५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड ५५ लाख रहेको छ । बजेटसँगै सभाले नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापन (ओएनम) लाई सर्वसम्मत पास गरेको छ ।
अध्यक्ष घनश्याम सुवेदीद्वारा पारित नीति तथा कार्यक्रममा चार बर्षे कार्यकालका उपलब्धीलाई संस्थागतका साथ निरन्तरता एवम् थप नयाँ कार्यक्रमहरु सुरुवात गरिने जनाइएको छ । विशेष गरि उत्पादन बजारिकरण लागि सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स देखि बाँझो जग्गा राख्ने परम्परालाई निरुत्साहन गर्न बाँझो जग्गामा खेति गर्नेलाई प्रोत्साहन गर्दै आएको पालिकाले उक्त कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । प्रोत्साहनका लागि २६ वटा तरकारी बालीमा दिइएको न्युनतम मुल्य र उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिदै भण्डारणको लागि नयाँ चिस्यान केन्द्रको अवधारणा अघि सारिएको छ । मकैको विउ उत्पादनमा गण्डकी प्रदेशमा नै पहिचान बनाएको पालिकाले कृषियोग्य माटो, खाद्यान्नमा विषादी तथा गुणस्तर परिक्षण गर्न कृषि ल्याव स्थापनको लक्ष्य राखेको छ ।
प्राविधिक शैक्षिक हब बनाउने उद्देश्य राखेको गाउँपालिकाले शिक्षामा प्रविधि, पुर्वाधार र प्रोत्साहनको नीतिलाई जोड दिएको छ । प्राविधिक शिक्षाका संकायको संचालन र निरन्तरतामा जोड दिएको गाउँपालिकाको वडा नं. १ गुर्दुममा गण्डकी प्रदेशको नमुना कार्यक्रम गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान निर्माणाधिन छ । गाँउपालिकाको स्थानीय पाठ्यक्रम तयार गरि पाठ्यपुस्तक हाम्रो फेदीखोला छपाईको तयारीमा छ । गाउँपालिकामा रहेका सबै विद्यालयका शिक्षक तथा कर्मचारीको न्युनतम पारिश्रामिक १५ हजार बनाउने नीति पालिकाको रहेको छ ।
कोभिड १९ महामारीमा व्यवस्थापनलाई चुस्त बनाई संक्रमणदर न्युन बनाएको पालिकाले संक्रमित भई अस्पतालमा उपचार गर्नुपर्ने अवस्था भएका विपन्न नागरिकलाई अधिकतम रु १५ हजार सहयोग गर्नेछ ।
त्यसैगरि पालिकाले १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ ।
त्यसैगरि ७० बर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति सेवाका लागि अस्पतालसम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने नीतिमा उल्लेख छ ।
स्वास्थ्यतर्फ मेडिक मोवाइल, ग्रामिण अल्ट्रासाउण्ड प्रविधि तथा निशुल्क स्वास्थ्य बिमाले प्राथमिकता पाएका छन् ।
युवा उद्यमीको संख्या वृद्धि गरेर रोजगारका दायरा तथा उत्पादन बढाउने उद्देश्यले संचालनमा आएको नमुना कार्यक्रम युवा उद्यमको कोष वृद्धि गर्ने जनाइएको छ ।
त्यसैगरि सामाजिक सुरक्षा अन्र्तगत मजदुरहरुको दीर्घकालिन जीवनयापन सहज बनाउन गाउँपालिकाले सुरु गरेको मजदुर संचित कोष पनि कार्यक्रममा समेटिएको छ ।
गाउँपालिकाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन फेदीखोला एकिकृत पर्यटन प्याकेज विकास कार्यक्रम, विभिन्न देशमा रहेका फेदीखोलावासीको समुहबाट फेदीखोला पर्यटन दुतको अवधारणा लगायतका कार्यक्रम रहेका छन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…