वालिङलाई दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

तोलाकान्त बगाले/वालिङ :
कोभिड १९ को सङ्क्रमण दर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणकालागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्रीहरु गरी रु. दश लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“महामारीकोरुपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले आँफूखुशी सहयोग जुटाउनुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “महामारी नियन्त्रण तथा रोकथामकालागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।”
पहिलो चरणको कोभिड १९ को महामारीका बेलामा पनि वालिङ नगरपालिकालाई आर्थिक तथा खाद्यान्न सहयोग भएको थियो भने नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पनि संघसंस्था तथा ब्यक्तिहरुबाट ठूलो सहयोग प्राप्त भएको नगर प्रमुख खाँणको भनाई थियो ।
विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणकालागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु र नगद सहयोग गरिरहनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।
दाताहरुले जुन प्रयोजनका लागि सहयोग गर्नुभएको छ सोही कार्यकालागि रकम खर्च गर्दै आएको बताउँदै नगर प्रमुख खाँणले भन्नुभयो, “यो महामारीका समयमा विभिन्न संघ संस्था तथा ब्यक्तिगतरुपमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति आभार ब्यक्त गर्दछौं ।”
“विषम परिस्थितिमा कोभिडलाई पराजित गर्नकालागि निरन्तर खटिरहेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “रोगलाई नलुकाउनुस् समयमै नगरपालिका, स्वास्थ्य संस्था वा वडा कार्यालयमा खबर गरिदिनुहोस् उपचारको जिम्मा नगरपालिकाले लिन्छ ।”
नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा बिरामीहरुलाई निशुल्क उपचार तथा निशुल्क खाना तथा खाजाको ब्यवस्था समेत मिलाएको छ । त्यस्तै नगरपालिकाले दुई वटा स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँ गाउँमा खटाएको छ भने आवश्यकता हेरी गाउँमै पुगेर पनि एण्टिजिन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीले उपलब्ध गराएको पाँच थान नाईन एम अक्सिजन कन्सन्ट्रेटरसहित अन्य अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरु समाजसेवी डा. पवमान सुबेदीमार्फत नगरपालिकालाई सहयोग गरेको हो ।
कन्सन्ट्रेटर नेपाल ल्याईपु¥याउने भाडासहित पिपिई सेट, एण्टिजिन किट, फेस शिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जाहरु गरी डा. सुबेदीको ब्यक्तिगत योगदानसहित दश लाख बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको हो ।
“महामारीका समयमा यसको रोकथाम तथा नियन्त्रणमा वालिङ नगरपालिकाले चालेको कदम प्रशंसनीय रहेको छ” डा. सुबेदीले भन्नुभयो, “आँफू पनि वालिङकै नागरिक भएकाले पनि महामारीका समयमा जे सकिन्छ त्यही सहयोग गरेका हौं नगरपालिकाले सहयोग स्वीकार गरेकोमा नगर प्रमुखसहित सिङ्गो पालिकाप्रति आभार ब्यक्त गर्दै विपदका समयमा सँगसँगै रहने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।”

 

Facebook Comments Box
TOP