गण्डकीमा मुख्यमन्त्री पोखरेलसहित चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

sapath_gandaki_Nepali

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसदलाई सहभागी गराएर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलसहित चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री बन्नेमा नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधु माया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन । उनीहरुले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । मन्त्री बनेका खड्का पहिले संविधानसभा सदस्य थिए ।

आचार्य जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको निर्वाचन क्षेत्रबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । सरकार गठनमा निर्णायक मानिएका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय दावी गरेपछि आज विनाविभागीय मन्त्रिमण्डल बनाइएको हो ।

प्रदेश सभामा विश्वासको मत गुमाएर पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख सीता पौडेलले कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री निर्वाचित गरेकी थिइन् ।

 

Facebook Comments Box
TOP