संक्रमित बढेपछि वालिङले स्वास्थ्य मन्त्रालयलाई भन्यो,“कि खोप देउ कि खरिद गर्ने अनुमती देउ”

स्याङ्जा : गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अघि बढाएको छ । कोरोनाविरुद्धको खोप किन्न लागेको वालिङ नगरपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो । गण्डकीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालयका अनुशार स्याङ्जामा पनि सोमबार मात्रै २ सय ३० जना थपिए । योसँगै जिल्लामा दोस्रो भेरियन्टमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कोराना संक्रमित वालिङ नगरपालिकामा रहेका छन् । नगरपालिकाको तथ्यांक अनुसार सोमबार मात्रै नगरभित्र २३ जनामा कोरोना देखिएको छ । नगरभित्र ५ सयजना संक्रमित छन् । अस्पताल भर्ना २१ जना छन् ।

नगरभित्र संक्रमितको संख्या दिनदिनै थपिदै गएपछि नगरपालिकाले कोरोना विरुद्धको खोप किन्ने तयारी थालेको हो । वालिङ नपाले कोभिड भ्याक्सिन खरिदको लागि केन्द्र सरकारसँग अनुमति मागेको छ ।

संघीय सरकारसँग कोभिडविरुद्धको भ्याक्सिन माग गर्दै यदि उपलब्ध गराउन नसके अनुमति दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । नगरप्रमुख दिलीपप्रताप खाँणले सिंगो पालिका नै कोरोना भाइरसबाट ग्रसित भएको बताउनु भयो । ‘यो महामारी अब हामीले मात्र थेग्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘कि त संघ सरकारले आवश्यकता अनुसार हामीलाई कोरोनाको खोप दिनुपर्यो । यदि दिन सक्दैन भने, अनुमति दिनुपर्यो । हामी आफ्नै खर्चले खोप किन्छौं ।’ नगरबासीले पनि आफैं पैसा तिर्ने गरी नगरपालिकालाई खोप ल्याउन माग राखेको उहाँले बताउनु भयो । उहाँले महामारीको बेलामा नगरपालिकाले आफ्ना जनतालाई खोपको अभावमा अकालमै मर्न नदिने बताउनु भएको छ ।

waling municipality

नगरपालिकाले पहिलो पटक दुई चरणमा खोप किन्न लागेको उहाँले बताउनु भयो । ‘हामीले २० हजार खोप ल्याउन खोजेका छौं,’ नगरप्रमुख खाँणले दोहोर्याउनु भयो, ‘पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा ५ हजार खोप ल्याउने योजना छ । खोपको लागि सम्बन्धित ठाउँ सल्लाह भइसकेको छ । संघीय सरकारले अनुमति दिनेबित्तिकै हामी खोप ल्याउछौं ।’

सस्तो दररेट अर्थात प्रतिखोप ५ डलर पर्ने गरि सल्लाह भएको उहाँको भनाइ छ । नगरपालिकाले खोप खरिदको लागि ४ करोड रुपैयाँ छुट्याएको बताएको छ । भारत र चीन दुवैतर्फको खोप ल्याउन पहल भइरहेको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार पहिला जहाँको छिटो आउँछ त्यहीको खोप ल्याउछौं । कमिसन नदिने गरी उपलब्ध गराउने सहमति भएको नपाले जनाएको छ । १५ हजार खोप जनताले आफैं पैसा तिरेर लगाउनुपर्ने छ ।

नगरप्रमुख खाँणका अनुसार जनताको माग अनुसार खोप खरिद गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘पैसा तिर्न सक्नेको हकमा मात्र हो । गरिब जनताको लागि हामी निःशुल्क खोप लगाउछौं ।’ नगरपालिकाले ५ हजार गरिब जनताको लागि छुट्याएको छ । बाँकी १५ हजार खोप जनताले किनेर लगाउने छन् । ‘सुरुमा ल्याउने खोप नगरपालिकाले पैसा हाल्छ,’ उहाँले भन्नुभयो, ‘२५ प्रतिशत नगरपालिका र ७५ प्रतिशत जनताले हाल्नेछन् ।’ईकान्तीपुर डटकमको सहयोगमा

 

Facebook Comments Box
TOP