पुतलीबजारमा खुल्यो हाते ट्याक्टर मर्मत केन्द्र

स्याङ्जा :
पुतलीबजार नगरपालिकामा संचालित २ वटा मिनि पावर टिलर (हाते ट्याक्टर) मर्मत केन्द्रको आज उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्तराष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार तथा सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत स्थापित मर्मत केन्द्रको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले उद्घाटन गर्नुभएको हो । मर्मत केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख क्षेत्रीले स्थानीय तह लगायत विभिन्न सरोकारवाला निकायले हाते ट्याक्टर सहुलियत दरमा उपलब्ध गरिएपनि मर्मतमा समस्या देखिएकाले मर्मत केन्द्र स्थापनामा परियोजना मार्फत सहयोग गरिएको बताउँनुभयो । प्रमुख क्षेत्रीले तालिम पश्चात आवश्यक सम्पूर्ण सामाग्री सहित मर्मत केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । दक्ष प्राविधिक मार्फत नै स्थानीय स्तरमै शुलभ मूल्यमा मर्मत गराउँन ट्याक्टर संचालकहरुलाई अनुरोध गर्नुभयो ।

.


कार्यक्रममा युएनडिपीका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले व्यवशाय प्रवर्द्धन र उद्यमशीलताको प्रवर्द्धनका लागि नगरपालिकाले गरिरहेको प्रयासको प्रसंशा गर्नु भयो ।
उत्पादन बढाउन तथा दीगो रुपमा आर्थिक उपार्जनका लागि उद्यमशीलतको प्रवर्द्धन हुनु पर्ने उहाँको भनाई छ । अर्यालले नगरपालिकामा सञ्चालनमा आउन लागेको उद्यमशीलता,व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईविक सेन्टर मार्फत उद्यमशीलतको प्रवर्द्धन गर्न निक्कै सहज हुने बताउनु भयाे ।

.


कार्यक्रममा वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, सूर्योदय क्लबका सल्लाहकार रविन्द्रप्रसाद श्रेष्ठ, सदस्य मोती प्रसाद मरासिनी, कार्यक्रम संयोजक एलिना ढकाल, मर्मत केन्द्र संचालक आनन्द मरासिनी लगायतले मन्तव्य राख्नुभएको थियो । परियोजना अन्तगर्त पुतलीबजार नगरपालिका वडा नं. १० का कुशल गुरुङको तेजेन मीनि पावर ट्याक्टर मर्मत केन्द्र र वडा नं. ३ को मरासिनी मीनि पावर ट्याक्टर मर्मत केन्द्रका लागि जनशक्ति विकास र आवश्यक सामाग्री सहयोग गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP