स्याङ्जाको गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

sports galyang_president_cup

गल्याङ : स्याङ्जाको गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर एक मालुङ्गामा रहेको श्री सार्बजनिक माध्यमिक विद्यालयमा गल्याङ नगर अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट भैरहेका राम्रा काममा अबरोध नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भोट आफुलाई मन लागेको ठाउँमा दिन आग्रह गर्दै विकास सबैका लागि भएकाले राम्रा कामको विरोध नगर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाबाट भैरहेको बहुप्रतिष्ठीत रामनदिधामको बृहत्तर गुरुयोजनामा केही अबरोध गर्ने प्रयास भैरहेको प्रसंग निकाल्दै यस्तो कामले विकास गर्न समस्या हुने बताउनुभयो ।
फरक प्रसंगमा उहाँले गल्याङ नगरपालिकाको वडा नम्बर एक लाई नमूना वडाको रुपमा विकास गर्न आफुले प्रयास गरिरहेको भन्दै साथ दिन सबैलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘तपाईहरुले भोट दिएर मात्रै हुँदैन, विकासका लागि सहयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।’
उहाँले सार्वजनिक माध्यमिक विद्यालयमा रहेको खेल मैदानको थप विकासका लागि दश लाख रुपैयाँको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
गल्याङ नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिइरहेको भन्दै नगरप्रमुख अधिकारीले कृषि र इन्जिनियरीङ क्षेत्रमा पनि कक्षाहरु सञ्चालन भैरहेको बताउनुभयो ।
विद्यार्थीको रचनात्मक क्षमताको विकासमा रनिङ शिल्ड प्रतियोगिताको महत्व रहेको भन्दै उहाँले यस्ता कार्यक्रममा सहभागी नहुने विद्यालयहरुको पनि नगरपालिकाले मुल्याङ्कन गरिरहेको बताउनुभयो ।
कार्यक्रमको सभापति पनि रहनुभएका गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले गल्याङको पहिचानका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदाराराज आचार्य, वडा नम्बर एकका अध्यक्ष गणेशप्रसाद बस्याल लगायतले पनि बोल्नुभएको थियो ।
शिक्षा समितिका राजेन्द्रदेब खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिता अन्तर्गत एक सय मिटर छात्र छात्रा दौड, चार सय मिटर छात्र छात्रा दौड, लङ जम्प, सर्ट फुट लगायतका खेलहरु समाबेश छन् । प्रतियोगिता मंगलबार समापन हुनेछ ।

Facebook Comments Box
TOP