आँधीखोला गाउँपालिका : बाङसिङमा स्वास्थ्य चौकी भवनको शिलान्यास

sudhir paudel

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आज उक्त भवनको शिलान्यास गर्नुभएको हो । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भवन शिलान्यासका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले कार्यक्रममा बोल्दै भन्नुभयो- “जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो।” वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

भवन निर्माणका लागि रु २ करोड १० लाख टेन्डर गरिएकोमा करिब २५ प्रतिशत ठेक्का घटेर रु १ करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउराली-४ कास्की ले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको  र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्य कर्मी शंकर पौडेलले गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेल, लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP