सामूहिकरुपमा आलु खेतीमा वालिङका महिला ।
ताेलाकान्त बगाले/स्याङ्जा : स्याङ्जाको वालिङका ९ का दलित महिलाले सामूहिकरुपमा आलु खेती गरेका छन् ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ १० बामलेटारमा सामूहिक आलु खेती गरिएको हो ।
४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत ५ रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताइन् ।
.

‘संस्थाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको छ,’ अध्यक्ष विश्वकर्माले भनिन्, ‘समूहमार्फत हामीले श्रममात्रै गरे पुग्छ ।’
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत व्यावसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताइन् ।
कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताइन् ।
उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार व्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताइन् । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्नेछन् ।
.

समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल बीउ लगाउने भएको हो ।
आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।
‘समूहमार्फत काम गर्दा एकापसमा सीपको आदान प्रदानका साथै सहजता हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं,’ अध्यक्ष तिवारीले भनिन्, ‘सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।’
यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाइने भएको हो ।
नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिँदै उत्पादकत्व बृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्नुहोस्,’ नगर प्रमुख खाँणले भने, ‘उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको ब्यवसायीकरण, आवश्यक यन्त्र उपकरण, औजारहरुका साथै बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।’
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताए ।
‘हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादनमा जोड हो,’ नगर प्रमुख खाँणको भनाइ थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


