गल्याङबजारमा वितरित खानेपानीको निरिक्षण गरियो ।

khanepani

गल्याङ: स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा वितरण गरिएको खानेपानी योजनाको आइतबार निरिक्षण गरिएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्याङ्जाका डिभिजन प्रमुख प्रेम डोटेल, इन्जिनियर शिबशंकर साह सहितको टोलीले खानेपानी आयोजनाको निरिक्षण गरेको हो ।
बजार क्षेत्रमा वितरण भैरहेको मान्केखोला खानेपानी आयोजनाको मुल, खानेपानी ट्याङ्की तथा विस्तार गरिएको क्षेत्रको अनुगमन गरिएको छ ।
नगरपालिकामा सबैभन्दा बढि खानेपानीको समस्या रहेको बजार क्षेत्रमा समाधानका लागि करिब डेढ करोडको बजेट आवश्यक पर्ने डिभिजन प्रमुख डोटेलले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘सात लाख मात्रै बजेट छुट्याइएको छ, यसले त केही गर्न पनि पुग्दैन ।’
गल्याङ नगरपालिकाले खानेपानीका लागि गरिरहेको पहल प्रशंसनीय रहेको भन्दै उहाँले थप व्यवस्थापन गर्नका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
निरिक्षणको क्रममा डिभिजन प्रमुख डोटेलले दुई लाख लिटर क्षमता भएको ट्याङ्कीलाई आसपास तारबार गर्ने प्रतिबद्वता जनाउनुभयो ।
मान्केखोला खानेपानी आयोजनाको मुल देखि लिफ्टीङको अवस्था, पानी संकलन तथा वितरणको प्रक्रिया सन्तोषजनक रहेको डोटेलले बताउनुभयो ।
मान्केखोलाको पानी वितरण भएको भन्ने केही प्रचारले आफुलाई दुःखी बनाएको भन्दै उहाँले मान्केखोला सँगै रहेको मुलको पानी वितरण र त्यसको प्रशोधनको अवस्था सन्तोषजनक रहेको बताउनभयो ।
सो अवसरमा डिभिजन इन्जिनियर शिबशंकर साहले बजेटको पर्याप्तता कम भएकाले सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो ।
मान्केखोला खानेपानी आयोजनाका अध्यक्ष प्रेमराज श्रेष्ठले सीमित बजेटका बाबजुद आफुहरुले बजारबासीलाई सुद्व पानी वितरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
गल्याङ नगरपालिका न्यायिक समितिका सदस्य एवम् गल्याङ खानेपानी तथा सरसफाई व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद भण्डारीले पानीको श्रोत थपेर थप व्यवस्थापन मिलाउन खोजिएको बताउनुभयो ।
यस अघि दुई दिन अगाडि भएको गल्याङ खानेपानी तथा सरसफाई व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अबिधेशनमा नगरपालिका प्रमुख भुपराज अधिकारीले खानेपानीका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभएको थियो ।

Facebook Comments Box
TOP