लायन्स क्लबद्वारा बाढीपहिरो पीडित ३१ घर परिवारलाई राहत प्रदान

lions club 1

भूपराज बस्याल/स्याङ्जा :
लायन्स क्लब अफ गल्याङ सिटिले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका बाढीपहिरो पीडित ३१ घर परिवारलाई राहत वितरण गरेको छ ।
अविरल बर्षासंगै आएको पहिरोबाट विस्थापित एवम् मृतकका परिवारलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक ३२५ बि १ को सहयोग, लायन्स क्लब काठमाडौं इभा को ब्याबस्थापन र लायन्स क्लब अफ गल्याङ सिटिको आयोजनामा उक्त राहत वितरण गरिएको ३२५ बि १ का डिस्टिक एडभाइजर महेश भट्टराईले जानकारी दिनुभयो । जिल्लाका सात स्थानीय तह मध्य बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको कालीगण्डकी गाउपालिकाले जिल्ला प्रशासनमा बुझाएको डाटा अनुसार उक्त सहयोग हस्तान्तरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
राहत लिएर मंगलबार पालिकाको विभिन्न स्थानमा पुगेको क्लबले एक घर परिवारको लागी चामल २५ केजि, दाल २ केजि, नुन १ पोका, सोयाबिन १ पोका, तेल १ लिटर,बलाङ्केट १ थान, पि फम १ थान र त्रीपाल १ थानका दरले ३१ घर परिवारलाई गाउँगाउँमा पुगेर राहत वितरण गरेको थियो ।
लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष अर्जुन बस्यालको सभापतित्वमा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला, ३२५ बि १ का डिस्टिक एडभाइजर महेश भट्टराई, रिजन चेयर प्रशन ओम थापा, डिष्टिक चेयर प्रशन डोल खरेल, लायन्स क्लब काठमाडौं इभाका अध्यक्ष कृष्ण पाण्डे लगायतको उपस्थिति र लायन्स क्लब अफ गल्याङ सिटिका सचीव कृष्ण भट्टराईको संचालनमा पालिकाका पाँच स्थानमा कार्यक्रम गरि उक्त राहत वितरण गरिएको थियो ।

.


जिल्ला प्रशासनले उपलब्ध गराएको विवरण अनुसार कालीगण्डकी गाउँपालिकाको पाँच नम्बर वडाभित्रको श्री बिरेन्द्र उच्च माध्यमिक बिधालयमा कार्यक्रम गरि पाँच जनालाई राहत वितरण गरिएको थियो । चार नम्बर वडा भित्रका १२ घर परिवारको लागि गाउँपालिकाको कार्यलयमा कार्यक्रम गरि राहत वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष खिम थापाले गाउँपालिकाले विस्थापित परिवारको लागि आफ्नै जग्गामा घर बनाउन चाहेमा दुई लाख पचास हजार रुपैयाँ दिने र पालिकाले नै जग्गा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना भएमा घर बनाएर दश बर्षसम्मको लागि उक्त जग्गा बेच बिखन गर्न नपाउने गरि हस्तान्तरण गर्ने निर्णय गरेको भन्दै त्यसको लागि कार्यबिधी बन्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । बिपत्तिमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै थापाले यहीँ बाढीपहिरोको लागि मात्रै देशबिदेश बाट बीस लाख भन्दा धेरै सहयोग प्राप्त भन्दै यसले बिपत्तिमा हामी पनि संगै छौ भन्ने आभास दिएको कुरा व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नम्बर दुई लसर्घाबेसिका चार घरपरिवारको लागि वडा कार्यलयमाको प्राङ्गणबाट राहत वितरण गरिएको थियो । उक्त वडाका अध्यक्ष नर बहादुर रानाले बिपत्तिको लागि राहत लिएर आउने क्लबलाई धन्यवाद दिनुभयो । बिपत्त पर्दा गाउँपालिका वा वडाले मात्रै जति सहयोग गरेपनि अपुग हुने हुँदा यस्तो बेलामा सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो ।
गाउपालिकाको एक नम्बर वडा चण्डी भञ्ज्याङ् पुगेर क्लबले नौ घरपरिवारको लागि राहत हस्तान्तरण गरेको थियो । वडा कार्यलयमा पीडितलाई बोलाएर राहत वितरण गरिएको थियो । उक्त वडाका अध्यक्ष सोभिलाल चौतारेले आफ्नो वडा पालिकाको दुर्गम क्षेत्रमा रहेको र यस्तो दुर्गम क्षेत्रमा पनि आएर राहत वितरण गरिदिनु भएकोमा क्लब प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । यहाँ संघ सस्थाको कमै उपस्थिति हुने भन्दै यस्तो ठाउँमा पनि पीडित सम्झेर आउने क्लबलाई धन्यवाद दिदै क्लबको उज्वाल भबिस्यको कामना गर्नुभयो ।

.

राहत वितरण गर्दै तिन नम्बर वडा वाइघा पुगेको क्लबको टोलिले वडा कार्यलयको प्राङ्गणमाबाट दुई जनालाई राहत वितरण गरेको थियो । उक्त वडाका अध्यक्ष राम बहादुर आलेले सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग काम गर्दै अगाडी बढ्न क्लबलाई शुभकामना दिनुभयो ।
एक ठाउँमा लगेर दिदा कतिपय ठाउँमा सम्बन्धित पीडितसंग नपुग्ने गरेको देशका विभिन्न क्षेत्रका समाचारहरु बाहिर आइरहेको हुँदा घरघरमा पुगेर पीडित समक्ष राहत वितरण गरेको आयोजकले जनाएको छ ।

Facebook Comments Box
TOP