गल्याङको राम्दीमा औद्योगिक ग्रामको काम सुरु हुँदै ।

Galyang mun

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक राम्दीमा औद्योगिक ग्रामको काम सुरु हुने भएको छ ।
गल्याङ नगरपालिका कार्यपालिकाको शनिबार बसेको बैठकले राम्दीको एकीयामा औद्योगिक ग्राम निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले चार नम्बर प्रदेशको प्रमुख नाका राम्दीमा प्रदेश स्तरीय प्रहरी चौकी बनाउन सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, गल्याङ नगरपालिका विपद व्यवस्थापन समितिको शनिबार नै बसेको बैठकको निर्णय अनुसार गल्याङ नगरपालिका भित्र प्राकृतिक विपदमा परेकाहरुको तथ्याङ्क संकलन गरी आइतबार विवरण पठाउने निर्णय भएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्णय बमोजिम नगरपालिका भित्र पूर्ण क्षति भएका परिवारको तथ्याङ्क संकलन गरी पठाउने निर्णय भएको हो ।
बैठकले विपदमा परेकाहरुको राहत तथा उद्दारका लागि विशेष पहल गर्ने निर्णय पनि गरेको नगर प्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विपद समितिमा भएको छलफलका आधारमा थप संकलन गरी विवरण पठाइनेछ ।
यस्तै बैठकले वडा नम्बर आठको तिन्दोवाटेमा प्रहरी चौकी बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, वडा नम्बर २ मा स्वास्थ्य चौकी बनाउनका लागि जग्गा छनौट गर्न प्रमुख प्रसाशकीय अधिकृत इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
यस्तै, वडा नम्बर छ को पिडिखोलामा प्रहरी चौकी भवन निर्माण गर्नका लागि पनि पहल गर्ने बैठकले निर्णय गरेको छ ।
नगरप्रबक्ता बस्यालले वडा नम्बर ११ मा सहरी स्वास्थ्य ईकाई निर्माण गर्न प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP