वालिङका ११५ घरको छाना हटाईयो ।

तोलाकान्त बगाले/वालिङ:
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना विस्थापन गरी जस्तापाता लगाईएको छ ।
वालिङ नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाईदिने नीति तथा कार्यक्रम पारित गरेसँगै गत आर्थिक वर्ष २०७६÷०७७ मा ११५ घर खरको छानामुक्त भएका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
गत आर्थिक वर्षमा वालिङ नगरपालिकाको रु. पचास लाख र शहरी विकास मन्त्रालयको सशर्त रु. पाँच लाख गरी कूल पचपन्न लाखबाट टेण्डर प्रक्रियामार्फत रु. एकचालीस लाख ६५ हजार ८०० मा जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
“वालिङ नगरपालिकाका १४ वटै वडामा रहेका खरका छाना विस्थापनका लागि लगत संकलन गरेका थियौं” नगर प्रमुख खाँणले भन्नुभयो, “लगत संकलनका क्रममा २३० वटा घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गत आर्थिक वर्षमा ११५ वटाको खरको छानो मुक्त गरी जस्तापाता लगाएका छौं बाँकी रहेकाहरुलाई चालु आर्थिक वर्षभित्रमा सक्ने छौं ।”
नगरपालिकाको नीति बनाउँदा पहिलो चरणमा अति विपन्न घर परिवार पहिचान गरी प्राथमिकताका आधारमा राखेर काम अगाडि बढाएको नगर प्रमुख खाँणले बताउनुभयो ।

.


“स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदा हुँदै पनि आगलागीको संभावना बढी हुने र अर्कोतर्फ खरको छाना छाउने दक्ष कामदारको अभावका कारणले पनि नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाईएको हो” नगर प्रमुख खाँणले भन्नुभयो, “कतिपय घर परिवार खरको छानो पनि फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएकाहरु गरीब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि खरको छाना विस्थापन अभियान चलाईएको हो ।”
गरीबीका कारण समाजमा जरा गाडेर रहेको हेय मानसिकता हटेर जाने विश्वास नगर प्रमुख खाँणको छ ।
खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकको लागत स्टिमेट अनुसार आवश्यक जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।
वालिङ नगरपालिकाले शतप्रतिशत अनुदानमा खरका छाना भएका घरधनीलाई जस्तापाता उपलब्ध गराएसँगै वालिङ नगरभित्र रहेका खरका छानाहरु विस्थापित हुने भएका हुन् ।

Facebook Comments Box
TOP