वालिङको ढाका हङकङ र बेलायतमा कोसेली

dhaka

कला राना/स्याङ्जा : महिला उद्यमशीलताका लागी यहाँका महिलाहरु समुहमा संगठित भएका छन् । वालिङका महिलाहरु समुहमार्फत उद्यमशीलतामा जोडिएका हुन् ।

१ वर्षअगाडि संगठित भएका महिलाहरु अहिले समुहमा ढाका बुनिरहेका छन् । वालिङमा रैँया महिला विकास समिति गठन गरी अगाडि बढेका महिलाहरु अहिले समुहमा ढाका बुन्नमा व्यस्त छन् ।

३ महिने ढाका बुनाई तालिम लिएका महिलाहरु अहिले ढाकाका रुमाल, खादा र सलहरु उत्पादन गरिरहेका छन् । यहाँ बनाईएका खादा र सलहरु बेलायत र हङकङमा समेत कोशेलीको रुपमा समेत लगिसकेका छन् ।

घरेलू तथा साना उद्योग कार्यालय स्याङ्जाबाट ३ महिने तालिम लिएका महिलाहरु १ वर्षदेखि ढाका बुनिरहेका छन् । तालिम लिएर यहाँको वालिङ उद्योग वाणिज्य संघको हलमा सामुहिक ढाका बुनिरहेका महिलाहरुले अर्डरका सल, खादा र रुमाल बनेका हुन् ।

समुहमा काम गर्दा एकअर्कोलाई सिप आदानप्रदान हुनुका साथै नयाँ नयाँ तरिकाहरु समेत आउने रैँया समूहकी अध्यक्ष कुमारी रानाले बताउनुभयो ।

रानाले भन्नुभयो, ‘हामीले समुहमार्फत ढाका बुनिरहेका छौँ । समुहमा कोष समेत स्थापना गरेका छौँ । त्यही कोषबाट हामीले समुह सञ्चालन गरेका छौँ ।’

समुहका दिदिबहिनीहरुबाटे पैसा जम्मा गर्ने र त्यही पैसा आवश्यक पर्दा ऋण समेत आदानप्रदान हुने गरेको अध्यक्ष रानाले बताउनुभयो । वालिङ नगरपालिकाले समेत हजार पिस स्मार्ट सिटि वालिङ लेखिएको ढाकाको रुमाल अर्डर गरेकाले अहिले त्यसमा कडाई भर्ने काममा दिदिबहिनी व्यस्त रहेको समुहकी उपाध्यक्ष कृष्णा थापाले बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, ढाका बुनाईमा दिदिबहीनीको निकै उत्साह रहेको छ । गुरुङ, मगर पोसाकका लागी सलहरुको समेत अर्डर भईरहेको छ ।’ शिक्षण पेशामा रहनुभएकी थापा यो लकडाउनको अवधिमा ढाका बुन्नमै व्यस्त रहेको उहाँले बताउनुभयो ।

समूहकी सचिव रुपा आले भन्नुहुन्छ, ‘हामीले अर्डरका काम गरेका छौँ, हामीले बनाएका सल, ढाकाहरु हङकङ, यूके र बेलायतमा कोशेलीको रुपमा समेत पुग्यो ।’ यहाँका स्थानीय मेला महोत्सवदेखि तिहारमा दाजुभाई तथा दिदिबहिनीलाई उपहारको रुपमा समेत ढाकाका खादा र सलहरु बिक्रि गरिएको सचिव आलेको भनाई छ ।

हरेक महिलाको हातमा सिप पुर्याउनु महिला समुहको उद्देश्य रहेको भन्दै सिप बिना सक्षम र आत्मनिर्भर हुन नसक्ने भन्दै सिप विस्तारमा समुह प्रतिवद्ध रहेको सचिव आलेले बताउनुभयो ।

अर्डरकै काममा भ्याईनभ्याई रहेको महिलाहरु हाल भने वाणिज्य संघको हल निर्माणका कारण घरघरमै तान लगेर समेत महिलाहरुले ढाका बुनिरहेका छन् । घरघरमा तान लगेर ढाका बुन्दा निकै असहज भएकाले एकै ठाउँमा बुन्दा निकै सहज हुने महिलाहरुको भनाई छ ।

तत्काललै कुनै स्थानमा भाडामा ढाका उद्योग सञ्चालन गर्न आर्थिकलगायतका कठिनाई भएको उनीहरुको गुनासो छ । केहि सहयोग मिले वालिङको केन्द्रमा ढाका बुनाई केन्द्र मार्फत महिलाहरु एकै स्थानमा काम गर्न चाहान्छन् । गछौँ भन्ने समुहलाई सम्बन्धीत निकायले चासो दिनुपर्ने देखिन्छ ।

साभार –अनलाईन रेडियो नेपाल डट जिओभी डट एन्पी बाट

Facebook Comments Box
TOP