वालिङ नपाद्वारा किसानलाई दुध चिस्याउने मेसिन हस्तान्तरण

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले ब्यवसायिकरुपमा दुध उत्पादन गर्दै आएको फर्मलाई आईतबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ ।
वालिङ नगरपालिका वडा नं. १४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वास्तविक किसानहरुलाई ओझेल पर्न नदिनका लागि वालिङ नगरपालिकाले प्रोत्साहनस्वरुप यन्त्र उपकरण तथा आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख खाँणले बताउनुभयो ।
.

“अब निर्वाहमुखी कृषि तथा पशुपालन गर्ने पद्धतिबाट माथि उठेर आधुनिक र ब्यवसायिकतातर्फ जोडिनुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यवसायिकरुपमा अगाडि बढ्नुहोस् कहीँ कतै अप्ठ्यारो महशुष भयो भने नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउँछ साथै उत्पादित बस्तुको बजारीकरणका लागि सहयोग समेत गर्छ ।”
ब्यवसायिकरुपमा फर्म सञ्चालन गर्नुभएका वास्तविक किसानलाई थप उर्जा दिन र अझै ब्यवसायिक बन्नतर्फ उत्प्रेरित गर्नका लागि नगरपालिकाले मेसिन उपलब्ध गराएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
यहाँ उत्पादन भएको दुधलाई केही दिनसम्म सुरक्षितरुपमा राख्नका लागि चिस्याउने मेसिन फर्मका लागि निकै उपयोगी रहेको फर्म सञ्चालक पिताम्बर डुम्रेले बताउनुभयो । “दुध चिस्याउने मेसिन नगरपालिकाले उपलब्ध गराएसँगै बिहान बेलुका कुनै पनि समयमा दुध संकलन गरेर राख्न सकिने भएको छ” यूवा ब्यवसायी एवं फर्म सञ्चालक डुम्रेले भन्नुभयो, “पाँच सय लिटर क्षमताको दुध चिस्याउने मेसिन भएसँगै अब बिहान बेलुकाको दूध संकलन गरेर राख्न सकिने र समय मिलाएर बिक्री वितरण गर्न सकिने भएकाले फाईदा हुने विश्वास लिएको छु ।”
साना तथा ठूला गाई तथा भैंसी गरी हाल डुम्रेको फर्ममा ९५ वटा गाई भैंसी छन् । दैनिक २७५ लिटर दुध उत्पादन गर्दै आउनुभएका डुम्रेले यहाँ उत्पादन भएको दुधसहित दूग्धजन्य पदार्थहरु दही, नौनी, पनीर वालिङ, गल्याङ तथा भीरकोट नगरपालिकाका विभिन्न बजारमा खपत गर्दै आउनुभएको छ ।
वालिङ वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गरीबसँग विश्वेश्वर कार्यक्रमका सीता गैह्रेले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…