काँग्रेस संगठन विभाग प्रमुख श्रेष्ठद्वारा स्याङ्जाका ११ पालिकामा स्वास्थ्य सामग्री वितरण

तोलाकान्त बगाले/वालिङ :

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले जिल्लाका एघार वटै पालिकामा स्वास्थ्य सामग्री वितरणलाई जारी राख्नुभएको छ । नेता श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका पाँच नगरपालिका र छ वटा गाउँपालिकामा कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्जिकल मास्क तथा सेनिटाईजर वितरण गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले हालसम्म वालिङ, पुतलीबजार, चापाकोट, भीरकोट नगरपालिकामा वितरण गरिसक्नुभएको छ भने नगरपालिकातर्फ गल्याङमा स्वास्थ्य सामग्री पठाउने तयारी भईरहेको छ । त्यस्तैगरी हरिनास, कालीगण्डकी, अर्जुनचौपारी गाउँपालिकामा स्वास्थ्य सामग्री पठाईसकिएको छ भने आँधीखोला, फेदीखोला र बिरुवा गाउँपालिकाका लागि पठाउने तयारी भईरहेकोले बाँकी रहेका पालिकाहरुमा १÷२ दिन भित्रै उपलब्ध गराईने नेता श्रेष्ठले बताउनुभयो ।

“पालिकाहरुमा एकद्वार प्रणालीमार्फत स्वास्थ्य सामग्री तथा राहत वितरणका कार्यक्रमहरु सञ्चालन भएका छन्” नेता श्रेष्ठले भन्नुभयो, “अहिलेको विषम परिस्थितिमा स्याङ्जा जिल्लाबासीहरुका लागि संस्थागतरुपमा स्वास्थ्य सामग्री वितरण गरेको हुँ, पालिकाहरुले स्वीकार गरेकोमा धन्यवाद दिन चाहन्छु ।”

नेता श्रेष्ठले जिल्लाका एघार वटै पालिका तथा जिल्लाका अन्य संस्थाहरुमा स्वास्थ्य सामग्री पुग्दाको अवस्थामा झण्डै ३५ हजार थान सर्जिकल मास्क र एकसय एमएलको दुई हजार एकसय थान र एकसय पचास एमएलको पाँच सय थान गरी कूल दुई हजार छ सय थान सेनिटाईजर वितरण हुने बताउनुभयो ।

यसैबीच नेता श्रेष्ठले सोमबार वालिङ नगरपालिकामा तीन हजार पाँचसय थान सर्जिकल मास्क, एकसय एमएलको २४० थान र एकसय पचास एमएलको ६० थान गरी तीनसय थान सेनिटाईजर उपलब्ध गराउनुभएको हो ।

स्वास्थ्य सामग्री बुझ्नुहुँदै नगर प्रमुख दिलिपप्रताप खाँणले नेपाली काँग्रेसका नेता श्रेष्ठले कोभिड १९ को जोखिमका बेला नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । नगर प्रमुख खाँणले प्राप्त स्वास्थ्य सामग्रीहरुको सही सदुपयोग गरी कोभिड १९ का विरुद्ध अग्रस्थानमा खट्ने ब्यक्ति तथा संस्थाहरुलाई उपलब्ध गराउने बताउनुभयो ।

Facebook Comments Box
TOP