मुख्यमन्त्री गुरुङ स्याङ्जाको अनुगमनमा,भन्छन् कोरोनामुक्त भए पछि मात्रै घर पठाईन्छ ।

आँधीखोला खबर/स्याङ्जा :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस कोभिड १९ का सबै सङ्क्रमितलाई संक्रमण मुक्त बनाएर मात्र घर पठाईने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले कोरोना संक्रमण भएपनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण विना घर पठाउँन भनेको तर प्रदेशका सबै सङ्क्रमितको पिसिआर परीक्षण गरी संक्रमण मुक्त भएपछि मात्र घर पठाउँने स्पष्ट पार्नुभयो ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै ५१ जना कोरोना भाइरसबाट संक्रमितको उपचार भइरहेको स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन र समुदाय स्तरमा कोरोना संक्रमित देखिएको गल्याङको अनुगमन गर्न आउनु भएका मुख्यमन्त्री गुरुङले परीक्षण विना घर पठाउँदा त्रास र जोखिम बढ्ने भएकाले सबैको परीक्षण गर्ने प्रबन्ध गरेको बताउनुभयो ।

.


स्याङ्जामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कालिका समुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा विकास गरिएको जानकारी दिदै मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टीन व्यवस्थापन, आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
प्रदेश सरकारले बाहिरबाट आउन सक्ने मानिसहरुको आँकलन गरी सबै व्यवस्थापकीय काम गरेको भन्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण फैलिन नदिन र संक्रमितलाई संक्रमणमुक्त बनाउँनु प्रमुख दायीत्व भएको बताउनुभयो ।

अनुगमनमा बिधायन समितिका सभापति मोहन रेग्मी, प्रदेश सांसदहरु भागवत प्रकाश मल्ल र मिन प्रसाद गुरुङ, जिल्ला समन्वय समितिका अध्यक्ष सिता सुन्दास, प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP