वालिङ : ‘अनलाईन सिस्टम’ बाट परीक्षाफल सार्वजनिक

वालिङ :

स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले आधुनिक प्रविधिलाई पछ्याउँदै ‘अनलाईन सिस्टम’ बाट कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।

वालिङ नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षाको परीक्षाफल ‘अनलाईन सिस्टम’ सार्वजनिक गरेको हो ।

विश्वभर महामारीकोरुपमा कोरोना भाईरसका कारण विद्यालयहरु सञ्चालन हुन नसकिरहेका बेला वालिङ नगरपालिकाले ‘अनलाईन सिस्टम’ बाट नतिजा सार्वजनिक गरिदिएसँगै सरोकारवाला विद्यार्थी, विद्यालय वा अभिभावकहरुले घरमै बसेर परीक्षाफल प्राप्त गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।

“आधुनिक सूचना प्रविधिसँग जोडिदै स्मार्ट सिटीकोरुपमा अगाडि बढेको वालिङ नगरपालिकाले ‘अनलाईन सिस्टम’ बाट नतिजा सार्वजनिक गरेर प्रविधितर्फ पहुँच बृद्धि गर्दै छ” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो, “विद्यालयले आफ्ना विद्यार्थीको नतिजा हेर्न र डाउनलोड गरेर लेजर प्रिन्टसमेत गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।”

नतिजा हेर्नका लागि वालिङ नगरपालिकाको अफिसियल वेभसाईट walingmun.gov.np  मा गई ‘कक्षा ८ नतिजा’ बटनमा क्लिक गरेर आफ्नो विद्यालयको आईडी र पासवर्ड हालेर लेजर हेर्न र प्रिन्ट गर्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

‘ईन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट ईन्फरमेशन सिस्टम -IEMIS ’ सफ्टवयरको विकास गरी सोहीमार्फत नतिजा सार्वजनिक गरिएको नगरपालिकाका सूचना प्रविधि ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

नगरपालिकाभित्र रहेका प्रत्येक विद्यालयका कम्प्यूटर सम्बन्धी ज्ञान भएका शिक्षकहरुलाई सैद्धान्तिक र प्रयोगात्मक विषयका प्राप्तांकहरु भर्ने, नतिजा हेर्ने तरिकाकाबारेमा तीन दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएसँगै नतिजा सार्वजनिक गरिएको ईञ्जिनियर अर्यालले बताउनुभयो ।

वालिङ नगरपालिकामा २४ सामुदायिक र १२ संस्थागत गरी कूल ३६ विद्यालयका एकहजार ६ जना छात्रछात्रा कक्षा ८ को परीक्षामा सम्मिलित भएका नगरपालिकाले जनाएको छ । गत फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा महामारीकोरुपमा फैलिएको कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनले रोकिएको थियो ।

Facebook Comments Box
TOP