कर्मचारीहरुद्वारा वालिङ नगरपालिकाको राहत कोषमा झण्डै तीन लाख प्रदान

तोलाकान्त बगाल/वालिङ :

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा कर्मचारीहरुले झण्डै तीन लाख प्रदान गरेका छन् ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीका कर्मचारीबाहेक अन्य सम्पूर्ण कर्मचारीहरुकोतर्फबाट एकमुष्ठ रु. २ लाख ८३ हजार ९ सय २० नगरप्रमुख दिलीपप्रताप खाँणलाई प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम ग्रहण गर्नुहुँदै नगर प्रमुख खाँणले कर्मचारीहरुले कोरोना भाईरस नियन्त्रणका लागि अनवरतरुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी ब्यक्त गर्दै नपामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नगरपालिकाले स्थापना गरेको राहत कोषमा अधिकृतस्तरका कर्मचारीको ५ दिनको र अन्य कर्मचारीहरुको ३ दिनको तलब राहत कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

विश्व समुदाय महामारीकोरुपमा फैलिएको कोरोनासँग जुधिरहेको अवस्थामा नगरपालिकामा कार्यरत कर्मचारीहरुकोतर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

स्वास्थ्यकर्मीबाहेक नगरपालिकामा कार्यरत ९१ जना कर्मचारीहरुकोतर्फबाट एकमुष्ठरुपमा चैत महिनाको तलबबाट कट्टी हुने गरी रकम सहयोग गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा जिन्सी गरी रु. ३९ लाख १३ हजार ३ सय ४० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राहत कोषमा नगद २८ लाख, ७८ हजार ५ सय २५ र जिन्सी १० लाख ३४ हजार ८ सय १५ गरी कूल रु. ३९ लाख १३ हजार ३ सय ४० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP