विपन्न वर्गका लागि खाद्यान्नलगायत विशेष राहत दिन प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड १९ विरुद्धको लडाइँमा घरभित्रै बसेर देश र दुनियाको रक्षाका लागि योगदान पुर्‍याउन सबै नागरिकमा अपिल गरेका छन्।

शनिबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न र त्यसमार्फत समाज र दुनियाको रक्षामा योगदान गर्न अपिल गर्दछु।’

उनले विपदको यो अवस्थामा विपन्न वर्गका लागि खाद्यान्न लगायतका कुरामा विशेष राहतको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए।

‘दैनिक ज्याला गरेर खाद्यान्न लगायतको जोहो गर्न निम्नवर्गीय जनताका लागि विशेष राहतको प्याकेज ल्याउने कुरामा सरकारको ध्यान जाने नै छ, म यो संकटको घडीमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि मुठी फुकाउन अपील गर्दछु’, प्रचण्डले भनेका छन्।

उनले हरेक प्रदेशमा कोरोना भाइरसका बिरामीको उपचारका लागि सुविधायुक्त व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

‘आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोवल उच्च रहने गरी कामको व्यवस्थापनमा जोड दिनुपर्छ’, प्रचण्डले भने । अध्यक्ष प्रचण्डले जोखिमका बेला विशेष सतर्कताका साथ समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पनि आग्रह गरे ।

उनले विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक सन्देश र आचारसंहिता पालना गरेर कोरोना भाइरसविरुद्धको युद्धमा होमिन सबैलाई अपील गरे ।

Facebook Comments Box
TOP