वालिङ : खरका छाना विस्थापन अभियानको शुरुआत

तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना विस्थापन अभियानको शुरुआत गरेको छ । नगर कार्यपालिकाको पाँचौं नगर सभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाईदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लगत संकलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङ नगरभित्रका १४ वटै वडामा रहेका खरका छाना विस्थापनकालागि लगत संकलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौं” नगर प्रमुख खाँणले भन्नुभयो, “पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौं ।”

शुक्रबार वालिङ ५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भएपनि आगलागीको संभावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव हुने भएकाले पनि नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाएको नगर प्रमुख खाँणको भनाई थियो ।
“कतिपय घर परिवार खरको छानो पनि फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ” नगर प्रमुख खाँणले भन्नुभयोे, “खरका छानो भएकाहरु गरीब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौं ।” गरीवीका कारण समाजमा विद्यमान रहेको हेय मानसिकता हटेर जाने विश्वास नगर प्रमुख खाँणको छ ।
खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत स्टिमेट अनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
नगरपालिकाले खरका छाना विस्थापनका लागि आबेदन माग गरेसँगै हालसम्म चारसय २८ जनाको निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…