वालिङ नगरपालिका विद्युतीय हस्ताक्षर लागू गर्ने तयारीमा

तोलाकान्त बगाले/वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिका विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गर्ने अन्तिम तयारीमा रहेको छ ।
विद्युतीय हस्ताक्षरका लागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई विभिन्न चरणका तालीमहरु प्रदान गरी ‘क्रिप्टो टोकन’ उपलब्ध गराईसकिएकाले अब छिट्टै यो सेवा आरम्भ हुने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“विद्युतीय हस्ताक्षर सम्बन्धी प्रमाणीकरण नियन्त्रकको कार्यालय रेडियन्ट ईन्फो टेक नेपाल प्रालिले वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आवश्यक तालीम दिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब विस्तारै हामी विद्युतीय हस्ताक्षरलाई लागू गर्दै अन्ततः पेपरलेस नगरकोरुपमा वालिङलाई स्थापित गर्छौं ।”

विद्युतीय हस्ताक्षरका लागि आवश्यक पर्ने आधारभूत संरचनाहरु निर्माणलाई प्राथमिकतामा राख्दै अगाडि बढेको नगर प्रमुख खाँणको भनाई थियो ।
विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) को प्रयोगले छिटो छरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने नगर प्रमुख खाँणको भनाई थियो ।
“जनप्रतिनिधि तथा कर्मचारीहरु सबैलाई ब्यक्तिगतरुपमा ‘क्रिप्टो टोकन’ उपलब्ध गराएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विद्युतीय हस्ताक्षर लागू भएपछि कोही पनि सेवाग्राही कार्यालय समयबाहेक पनि सेवा लिन सक्नेछन् ।”
वालिङ नगरपालिकाले विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गर्नका लागि आवश्यक प्रक्रियाहरु पूरा गर्दै अन्तिम चरणमा पुगेको र देशभरीमा काठमाडौं महानगरपालिकापछि वालिङमा यो सेवा कार्यान्वयनको चरणमा रहेको सरकारबाट मान्यताप्राप्त रेडियन्ट ईन्फो टेक नेपाल प्रालिका प्रवन्ध निर्देशक दीपक भण्डारीले बताउनुभयो ।

विद्युतीय हस्ताक्षरपश्चात् नगरपालिका तथा वडा कार्यालयमा रहेका पुराना फाईलहरुलाई ‘डिजिटलाईज’ द्वारा कानूनी मान्यताबाट विद्युतीय हस्ताक्षर गरी अभिलेख राख्न सकिने भएकाले पनि यो पद्धति विश्वसनीय रहेको प्रवन्ध निर्देशक भण्डारीले बताउनुभयो ।
‘डकुमेन्ट म्यानेजमेन्ट सिष्टम’ को प्रयोग गरी डिजिटल माध्यममा भएका डकुमेन्टहरु सजिलै ट्रयाक गर्न सकिने भएकाले पनि वडा तथा नगरपालिका कार्यालयले ‘डकुमेन्ट म्यानेजमेन्ट सिष्टम’ को ‘एप्लिकेशन’ प्रयोग गर्न सक्ने प्रवन्ध निर्देशक भण्डारीले बताउनुभयो ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…