वडाका गर्भवतीको हातमा अण्डा, घरमा झण्डा

तोलाकान्त बगाले/वालिङ
वालिङ नगरपालिका वडा नं. ५ ले गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको पोषण स्वास्थ्य अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।
वडा कार्यालयले वडाभित्रका एकसय १७ जना सुनौला हजार दिनका आमा र बच्चाको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक क्यारेट अण्डा वितरण गरिएको वडा अध्यक्ष ढाकाराम पंगेनीले बताउनुभयो ।
“अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलाहरुलाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ” वडा अध्यक्ष पंगेनीले भन्नुभयो, “नियमित स्वास्थ्य चौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुबैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौं ।”
वडाले यो अभियानलाई निरन्तररुपमा अगाडि बढाएर गर्भवती, सुत्केरी महिला र बच्चाको स्वास्थ्य तथा पोषणका क्षेत्रमा सुधारका संकेतहरु ल्याउने दाबी वडा अध्यक्ष पंगेनीको छ ।
गर्भवती महिला तथा जन्मिने बच्चाको पोषण स्थितिमा सुधार ल्याउनका लागि यो कार्यक्रम निक्कै प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
“गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको छ यो महत्वपूर्ण र प्रभावकारी छ” शाखा प्रमुख पाण्डेले भन्नुभयो, “प्रोटोकल अनुसार गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको संख्यामा बृद्धि हुने र दुई वर्षसम्मका बच्चाको बृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ ।”
‘हातमा अण्डा घरमा झण्डा’ अभियान अन्तर्गत गर्भवती महिलाको घरमा रातो झण्डा देखिने ठाउँमा लगाईने र बच्चा जन्मेदेखि दुई वर्षसम्मको सुत्केरीको घरमा हरियो झण्डा लगाईने शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
वडाले गर्भवती तथा सुत्केरी महिला र बच्चाको पोषण एवं स्वास्थ्यलाई विशेष ध्यानमा राखेर थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपंक्षीजन्य खाद्यपदार्थहरु उत्पादनतर्फ जोड दिनु जरुरी छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ ।”
यस अभियानले गर्भवती महिलाहरु नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास हुने नगर प्रमुख खाँणको भनाई थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…