सिडियोलाई साक्षी राखेर कर्मचारीले लिए सपथ

वालिङ : लोकसेवा आयोगबाट सिफारिस भई हालै वालिङ नगरपालिकामा आएका पाँच कर्मचारीलाई शुक्रबार सपथ खुवाईएको छ ।
सामान्य प्रशासनतर्फको चौथो सहायक पदमा लालचन्द्र पौडेल, पार्वती रेग्मी, डोलजंग गुरुङ, लालुकान्त भट्टराई र सह लेखापाल चौथो पदमा सुमन परियारलाई वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई साक्षी राखेर सपथ गराउनुभएको हो ।
सपथ ग्रहणसँगै नवनियुक्त कर्मचारीहरुलाई स्याङ्जाका प्रजिअ कुरुम्बाङले सेवाग्राहीलाई शासकीय सोँचबाट नभई सकारात्मक सोँचबाट छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
“लोकसेवा जस्तो पवित्र संस्थाबाट उत्तीर्ण भई आम नागरिकको सेवा गर्छु भनेर आउनुभएको छ” प्रजिअ कुरुम्बाङले भन्नुभयो, “लोकसेवा उत्तीर्ण भएको भन्ने प्रमाणित त भयो तर माटोप्रतिको लगाव, तपाईहरुको आनीबानी, ब्यबहार, मनोबृत्ति कस्तो छ भन्ने प्रमाणित भएको छैन त्यो प्रमाणित आम नागरिकले गर्न पाउने गरी अगाडि बढ्नुहोस् शुभकामना छ ।”
आम नागरिकलाई सन्तुष्ट बनाउने र समस्याप्रति संवेदनशील हुन पनि प्रजिअ कुरुम्बाङले निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारीको रोहबरमा सपथ गराउँदा कर्मचारीले आफ्नो काम, कर्तब्य र अधिकार नविर्सने प्रमुख प्रशासकीय अधिकृत सुबेदीको तर्क छ ।
“सपथ ग्रहणको परम्परालाई पृथक तथा नयाँपन दिदै थप जिम्मेवार बनाउनका लागि यसरी सपथ ग्रहण गराएका हौं” प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो, “यसरी प्रजिअलाई साक्षी राखेर सपथ ग्रहणले आगामी दिनमा कर्मचारीलाई झन कर्तब्यनिष्ठ तथा पेशाप्रति बफादार हुन अभिप्रेरित गर्ने छ ।”

वालिङ नगरपालिकाले यसअघि पनि यही पुस ३ गते सेवाग्राहीलाई साक्षी राखेर दुई कर्मचारीलाई सपथ खुवाएको थियो ।
सपथ लिनुभएका नवनियुक्त कर्मचारीहरुले आँफूहरुले पाएको जिम्मेवारीलाई कर्तब्यनिष्ठ, अनुशासित, मर्यादित र कुनै लोभलालचमा नपरिकन सेवाग्राहीलाई छिटो छरितो सेवा दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…