जिन एक्सपोर्ट मेशिन हस्तान्तरण
वालिङ : राष्ट्रिय क्षयरोग निवारण केन्द्रले वालिङमा रहेको गहौं प्राथमिक अस्पताललाई अत्याधुनिक जिन एक्सपोर्ट मेशिन उपलब्ध गराएको छ ।
पुरानो मेशिन तथा प्रविधिहरुको प्रयोग गरी क्षयरोग भए नभएको पत्ता लगाउँदै आएको अस्पतालमा अत्याधुनिक मेशिन उपलब्ध भएसँगै सेवा छिटो छरितो र सहजरुपमा हुने गहौं प्राथमिक अस्पतालका प्रमुख डाक्टर मोहन विकले बताउनुभयो ।
“पुरानो प्रविधि/यन्त्रबाट काम गर्दा झण्झटिलो र समय धेरै लाग्ने गथ्र्यो” प्रमुख डा. बिकले भन्नुभयो, “अत्याधुनिक जिन एक्सपोर्ट मेशिनबाट दुई घण्टाभित्रै क्षयरोग भए नभएको र औषधीले काम गरेको नगरेको मात्रा पनि थाहा पाईने भएकाले तत्कालै उपचार थाल्न सक्छौं ।”
जिन एक्सपोर्ट मेशिन धेरै महङ्गो भएकै कारण पनि धेरै अस्पतालहरुमा नभएको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।
“यस मेशिनको सही सदुपयोग गरी वास्तविक क्षयरोगी पत्ता लगाई उपचार गर्नु मुख्य उद्धेश्य हुने छ” निर्देशक राजभण्डारीले भन्नुभयो, “यस अस्पतालबाट स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, गुल्मी र दक्षिण पर्वतका केही भेगका बिरामीलाई सहयोग पुग्ने भएकाले उपलब्ध गराएका हौं ।”
क्षयरोगीहरु पत्ता लगाई तत्काल उपचार गर्नकालागि अत्याधुनिक मेशिनको प्रयोगले ठूलो सहयोग मिल्ने विश्वास गहौं प्राथमिक अस्पताल विकास समितिका अध्यक्ष एवं वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।
क्षयरोगको उपचारका लागि टाढा टाढा जानुपर्ने बाध्यता हट्ने छ भने छोटो अवधिमै धेरैभन्दा धेरै बिरामीको परीक्षण गर्न सकिने भएकाले पनि सहज हुने अध्यक्ष खाँणको भनाई थियो ।
“राष्ट्रिय क्षयरोग केन्द्रले जिल्लामै पहिलो पटक यस अस्पताललाई छनौट गरी अत्याधुनिक मेशिन उपलब्ध गराउनुभएको हो” अध्यक्ष खाँणले भन्नुभयो, “यसको सही सदुपयोग गर्दै धेरैभन्दा धेरै विरामीको क्षयरोग परीक्षण तथा उपचार गर्नेमा विश्वास दिलाउन चाहन्छु ।”
कार्यक्रममा वालिङ नगरपालिकाका स्वास्थ्य सल्लाहकार डाक्टर सुशील कोईरालाले जिल्लामै यस अस्पतालमा पहिलो पटक अत्याधुनिक मेशिन उपलब्ध भएको बताउँदै सेवा प्रवाहलाई छिटो छरितो बनाउनका लागि दक्ष जनशक्तिहरुको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…