वालिङमा निशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु

तोलाकान्त बगाले/वालिङ :

स्याङ्जाको वालिङ नगरपालिकाले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ ।

‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शुन्य शैक्षिक बेरोजगार’ भन्ने मुल नाराकासाथ सोमबारबाट वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो ।

तयारी कक्षा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले मानव संसाधनको विकास जस्तो दरिलो र दीगो विकास अरु हुन नसक्ने भएकाले मानव संसाधनको विकासमा बढी चासो दिनु आवश्यक रहेको बताउनुभएको छ ।

नगर प्रमुख खाँणले प्रत्येक मानिसभित्र अथाह संभावनाहरु रहेको बताउँदै जसले आँफूभित्र रहेको संभावनाहरुको विकास गर्छ उ अगाडि बढ्ने र जसले गर्दैन उ पछाडि पर्दै जाने बताउनुभयो ।

“कर्मचारीको क्षेत्रमा स्याङ्जा जिल्लाका कर्मचारीहरु धेरै कार्यालयहरुमा हुनुहुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीहरुलाई सरकारी सेवामा बढी भन्दा बढी उत्तीर्ण बनाउने लक्ष्य वालिङ नगरपालिकाले लिएको छ ।”

कुनै एउटा लक्ष्य लिएर उक्त लक्ष्य प्राप्तिका लागि निरन्तर लागेमा सफलता धेरै टाढा नरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी परीक्षा उत्तीर्ण गराउने उद्धेश्यले वालिङ नगरपालिकाले थालेको अभियानमा सहभागी भई बढीभन्दा बढी फाईदा लिन पनि उपप्रमुख तिवारीले सहभागीलाई सुझाव दिनुभयो ।

नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निशुल्क अध्ययन गर्न पाउने भएकाले पनि ईच्छुकहरुकालागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको भनाई थियो ।

नायब सुब्बा र खरिदारका लागि सोमबारबाट शुरु भएको तयारी प्रशिक्षण कक्षाहरु बिहान र बेलुका गरी दुई चरणमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्मा, वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, लोकसेवा आयोगका पूर्व कर्मचारी देवीप्रसाद बगाले लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले स्वागत र शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP