लियो क्लब वालिङले बिभिन्न कार्यक्रम सहित स्थापना दिबस मनाउदै, पहिलो दिन सरसफाई ।

आँधीखोला खबर/वालिङ :
लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तर्राष्ट्रिय लियो दिवसका अवसरमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको छ । लियो दिवसका अवसरमा विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको लियो क्लब अफ वालिङ सिटीले पहिलो दिन बिहीबार सरसफाई गरेको सरसफाई कार्यक्रम संयोजक बिपुल शर्मा पंगेनीले बताउनुभयो ।
सरसफाई कार्यक्रमको शुभारम्भमा बोल्दै स्वास्थ्य केन्द्र सञ्चालक समितिका सदस्य यामबहादुर गुरुङले सरसफाईका लागि स्वास्थ्य केन्द्रलाई छनोट गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि यसप्रकारका रचनात्मक कार्यहरुमा निरन्तररुपमा लाग्न पनि सुझाव दिनुभयो ।


कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विक, लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेस चियरपर्सन चेतनारायण श्रेष्ठ, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष कमलप्रसाद पाण्डे, ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष डण्डपानी पंगेनी, स्वास्थ्य केन्द्रका सिनियर अहेव दुर्गाप्रसाद भण्डारी,वालिङ जेसिजका महासचिब एवं नेविसंघ जिल्ला कोषाध्यक्ष धुर्ब पंगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
६२ औं अन्तर्राष्ट्रिय लियो दिवसका अवसरमा शुक्रबार वालिङ १४ मा रहेको उपल्लो पेखु माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण, हिमशिखर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, शनिबार नेपाल आदर्श क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय वालिङको प्रहरी, स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु, लायन्स, लियो क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुको गरी करीब ६० जनाको सहभागिता रहेको थियो । लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव हरि रेग्मीले र स्वागत प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP