वालिङ नगरपालिकाद्वारा १४७ अपाङ्गता परिचय पत्र वितरण

Apanga

तोलाकान्त बगाले / वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म १ सय ४७ अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।
सिंहदरबारको अधिकार घर घरमा भनिए अनुसार नै स्थानीय सरकारको रुपमा रहेको वालिङ नगरपालिकाले नगरभित्रका अपाङ्गता भएकाहरुलाई विभिन्न चार समूहमा बर्गीकरण गरी परिचय पत्र वितरण गरेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उपप्रमुख तिवारीका अनुसार रातो, निलो, पहेँलो र सेतो गरी चार किसिमका अपाङ्गता परिचय पत्र वितरण गरेको हो ।

विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुको बर्गीकृत लगत राख्न सहज तुल्याउने, उनीहरुको अधिकारसम्बन्धी ऐन र अपाङ्गता भएका ब्यक्तिको अधिकारलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने मुख्य उद्धेश्यले अपाङ्गता परिचय पत्र वितरणको थालनी गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।

नगरपालिकाले हालसम्म रातो २१ वटा, निलो ६८ वटा, पहँेंलो ४४ वटा र सेतो १४ वटा परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो । नगरपालिकाले गत चैत्रदखि प्रत्येक महिनाको ५ गते नगरपालिका कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण गर्दै आएको छ ।

गत चैत्रबाट परिचय पत्र वितरण शुरु गरेको नगरपालिकाले पहिलो पटक चैत्रमा १२ वटा, बैशाखमा १५ वटा, जेठमा १४ वटा, असारमा ४५ वटा, साउनमा २४ वटा, भदौमा २२ वटा र कार्तिकमा १५ वटा गरी हालसम्म कूल एकसय ४७ वटा परिचय पत्र वितरण गरेको हो ।
आगामी दिनमा पनि नगरभित्र बसोबास गर्ने नगरबासीहरुलाई नियमितरुपमा अपाङ्गता परिचय पत्र वितरण गर्दै लगिने वालिङ नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP