उपचुनाब – सरकारका कारण लोकतन्त्र धरापमा : गोपालमान श्रेष्ठ


आँधीखोला खबर/पोखरा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताउनु भएको छ । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उहाँले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको आरोप लगाउनु भएको हो ।
कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–८ मा आयोजित घरदैलोका क्रममा नेता श्रेष्ठले यो सरकारका पछिल्ला गतिविधि हेर्दा मुलुक हारेको र लोकतन्त्र धरापमा परेको प्रमाणित हुँदै गएको उहाँले जिकिर गर्नुभयो । निकै ठूलो बलिदानी गरेर ल्याएको लोकतन्त्र रक्षा गर्नकै लागि भए पनि यो उपनिर्वाचन जित्न जरुरी रहेको उहाँले बताउनु भयो । ‘सरकारले प्रेस, मानवअधिकार तथा न्यायालयमा निरन्तर आक्रमण गरिएको छ’, श्रेष्ठले भन्नुभयो, ‘सरकार निरङ्कुसतर्फ लम्किन खोजेको छ । त्यसलाई ठोगान लगाउन पनि कांग्रेसले जित्न जरुरी छ ।’
यो चुनावमा सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै कांग्रेस एकजुट भएमा चुनाव सहजै जित्न सकिने श्रेष्ठले बताउनु भयो ।‘अघिल्लो चुनावमा हामी हारेर निराश बनेका छैनौं’, श्रेष्ठले भन्नुभयो ‘हामी अझै उत्साहका साथ संगठन मजबुद बनाउन लागिपरेका छौं ।’ विगतमा भएका कमीकमजोरीलाई मनन गर्दै कांग्रेस एक जुट भएर लाग्न जरुरी रहेको नेता श्रेष्ठको भनाई छ ।
पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले यो मुलुकको रक्षा कांग्रेसबाहेक अरुले गर्न नसक्ने जिकिर गरे । पोखरा–८ का चुनावी कमाण्डरसमेत रहेको रानाभाटले सरकारको खलत रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले भने, ‘घरदैलोका क्रममा जनता निकै निराश भएको पायौं । सरकारका कारण राजनीतिक दलहरूप्रचि जनताको वितृष्णा पैदा भएको छ ।’

यसैबीच, कास्की कांग्रेसले घरदैलो अभियान तीब्र बनाएको छ । कास्की क्षेत्र नं २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी छ । जस अन्तर्गत पोखरा १७ मा पनि आइतबार अभियान जारी रह्यो । यस वडामा केन्द्रीय सदस्य प्रदीप पौडेल, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताउनु भयो ।

Facebook Comments Box
TOP